Logo
Logo

सम्पत्ति लुकाउँदै कर्मचारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ललिता निवास बालुवाटारको ११४ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गर्ने मुख्य दोषी कर्मचारीहरु सम्पत्ति लुकाउन तल्लीन छन् । बालुवाटारको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया चलिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेहरुउपर छानबिन गरिरहेको छ । शारदाप्रसाद त्रिताल आयोगले जग्गा दर्ता गर्ने कर्मचारी र भूमाफियामाथि कारबाही गर्न सिफारिस गरेपछि अख्तियारले विस्तृत छानबिन गरिरहेको छ । अख्तियारले छानबिन सुरु गरेपछि बालुवाटारको जग्गा दर्ता गर्ने मुख्य दोषीमध्येका पूर्वसहसचिव टीकाराम घिमिरेले अकूत सम्पत्ति विभिन्न ब्यक्तिका नाममा सम्पत्ति लुकाउन थालेका छन् ।

टीकाराम घिमिरे

उनले ससुराली, आफन्त र मालपोतका लेखापढी ब्यवसायीका नाममा पनि सम्पत्ति लुकाएका छन् । काठमाडौंको कपन साततल्लेमा ४ रोपनीमा अपार्टमेन्ट छ । जुन अपार्टमेन्ट चावहिल मालपोतमा लेखापढी ब्यवसाय गर्ने अरुणा ढुंगानाका पति हेम महतको परिवारका नाममा छ । हेम महत टीकाराम घिमिरेको सम्पत्ति ब्यवस्थापन गर्ने र लुकाउने एक पात्र हुन् । उनको सम्पत्तिको स्रोत खोजी गर्ने हो भने त्यो टीकाराम घिमिरेकै भएको पुष्टी हुने स्रोत बताउँछ । महतकी श्रीमती अरुणा लामो समयदेखि लेखापढी ब्यवसाय गर्दैआएकी छन् ।

त्यसैगरी सहसचिव घिमिरेले भूमिब्यवस्था मन्त्रालयमा लामो समय काम गर्ने क्रममा ललितपुरको गोदामचौरमा १६ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा आफ्ना साला एकराज पोखरेलको नाममा दर्ता गरेका छन् । जुन जग्गामा उनका साला नै बस्दैआएका छन् । साला पोखरेलकै नाममा विभूति ट्रान्सपोर्ट खोलेर १२ बर्षअघि नै ४ वटा कन्टेनर किनेर पहिला तातोपानी हाल रसुवा नाकामा मालसामान ढुवानी गर्दैआएका छन् । झापाबाट काठमाडौं आउँदा दालभातको जोहो गर्न नसक्ने उनका ससुराली खलक आज बीसौं करोडका मालिक भएका छन् । उनीहरुको सबै सम्पत्ति खोजी गर्ने हो भने टीकाराम घिमिरले नै लुकाएको फेलापर्नेछ । उनी एक बर्षअघि अवकाश भएका हुन् । बालुवाटारको जग्गा दर्ता गर्नेमध्येका घिमिरे ओखलढुंगाबाट फित्तावाला चप्पल लगाएर आएका थिए । तर आज पदको दुरुपयोग गरेर मात्र नपुगी प्रधानमन्त्री निवासको जग्गा समेत घुस खाएर दर्ता गर्न पछि परेनन् । उनले डिल्लीबजार मालपोत कार्यालयको प्रमुख हुँदा धेरै सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेका थिए । जुन सम्पत्ति उनले अमेरिकामा समेत लुकाएको आरोप छ । अमेरिकामा उनका छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्