Logo
Logo

सल्लाहकारले ओलीलाई यसरी फसाए


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनरात बालुवाटारमा घेरेर बस्ने एउटा समूहले गलत ब्रिफिङ गर्दै आफ्नो स्वार्थपूर्ति गरेकै कारण गत शनिबार प्रधानमन्त्री ओली पोखरामा लज्जित हुनुप¥यो । इञ्जिनीयर भरत पहारीले मापदण्डविपरीत बनाएको स्वीस इन्टरनेशनल होटल उद्घाटन गर्न पोखरा पुगेका ओलीलाई स्थानीय कार्यकर्ताले उक्त होटल मापदण्डविपरीत बनेकोले उद्घाटन नगर्न आग्रह गरे । ओलीलाई उक्त होटल मापदण्डविपरीत बनेको कुरा उनका सल्लाहकारहरुले लुकाएका थिए । साढे तीन तलाको स्वीकृति लिएर ११ तलाको होटल बनाएपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए ।

विकासविज्ञ घनश्याम भट्टराई

समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आफ्नै सल्लाहकारले गुमराहमा राखेको पोल पोखरा पुगेपछि खुल्यो र प्रधानमन्त्री ओलीले होटल उद्घाटन नगरी फर्किए । प्रधानमन्त्रीलाई होटल उद्घाटन गराउन मन्जुर गराएपछि उद्घाटन गर्नका लागि ओलीकै नाममा ताम्रपत्र समेत बनाइएको थियो । यसरी सल्लाहकारको विश्वासमा पर्दा ओली पोखरामा अपमानित हुनुपरेको हो ।

ओलीका लागि यो नै पहिलो घटना भने होइन । यस अगाडि पनि लुम्विनी विकास कोषको सदस्य सचिव नियुक्त गर्दा ओलीले धोका पाएका छन् । कोषको सदस्य सचिव पदका लागि एक वर्षभन्दा अगाडि सूचना आह्वान गरिएको थियो । जसमा २२ जनाले आवेदन दिएका थिए । ती आवेदकहरु परीक्षामा समेत सहभागी बने । तर, ती २२ जनालाई एकातिर पन्छाएर तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले ओलीको ठाडो आदेशमा पाल्पाका प्रजिअ विष्णुप्रसाद ढकाललाई सदस्य सचिवमा नियुक्त गरे । गत साउन १० गते मन्त्रिपरिषद्ले ढकाललाई सदस्यसचिवमा नियुक्त गरेपछि त्यस नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा प¥यो । सर्वोच्चमा मुद्दा परे पनि ढकाललाई निरन्तरता दिन पर्यटन मन्त्रालयले एउटा सूचना प्रकाशित गरेर खुला प्रतिस्पर्धाबाट परीक्षा दिएकाहरुको परीक्षाफल रद्द गरेको सूचना गोरखापत्रमा प्रकाशित ग¥यो । जबकि सर्वोच्चमा विधाराधीन मुद्दाको विषयमा मन्त्रालयले यसरी सूचना निकाल्न हुँदैन थियो ।

यो सबै कुराको जानकारी २२ जना पीडित परीक्षार्थीमध्ये भेषराज आचार्यको नेतृत्वमा गएको टोलीले गत साता प्रधानमन्त्री ओलीसँग भेटेर जानकारी गराए, तब ओली पनि छाँगोबाट खसेजस्तै बने । वास्तविक कुरा बुझेपछि गत साता प्रधानमन्त्री ओलीले सदस्यसचिव ढकाललाई बर्खास्त गरे । अब परीक्षामा सामेल भएका उम्मेदवारहरुको भाग्य चम्कने भएको छ ।

त्यति मात्र होइन, गत कात्तिक ६ गते साझा यातायातको प्राङ्गणमा प्रधानमन्त्री ओलीसहित पाँच जना मन्त्रीको उपस्थितिमा शुभारम्भ गरिएको बिजुली बसका विषयमा पनि उनका सल्लाहकारले प्रधानमन्त्रीलाई गलत सल्लाह दिएको कारण लुम्विनी विकास कोषका लागि आएको पाँच वटा बिजुली बस आठ महिनादेखि ग्यारेजमा थन्किएको छ । चीनको बीवाईडी कम्पनीमा निर्मित उक्त बसलाई मन्त्रालयले ‘मेन इन इन्डिया’ भएकोले अस्वीकृत गरिएको गलत सूचना प्रधानमन्त्री ओलीलाई दिए । जबकि आजसम्म भारतमा बिजुली बस बनेकै छैन । यसका विषयमा कसैले प्रधानमन्त्रीलाई वास्तविक जनकारी देलान् भनेर प्रधानमन्त्रीसँग बीवाईडी निकट व्यक्तिहरुलाई भेट्न समय दिएको छैन ।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा मदन खरेललाई नियुक्त गर्ने गिरोहले पनि प्रधानमन्त्रीलाई वाइडबडी जहाजका विषयमा नचाहिने कुरा गरेर आफ्नो स्वार्थ पूरा गरेका छन् । सुगतरत्न कंशाकारको बहिर्गमन, खरेलको आगमनपश्चात निगम टाट पल्टने अवस्थामा छ । तर, त्यसको दोष ‘वाइडबडी’ माथि थोपरिएको छ । बिनायोजना वाइडबडी खरिद गरेर निगमको आर्थिक अवस्था कमजोर भएकाले कंशाकारलाई हटाएर खरेललाई ल्याउनुपर्ने सुझाव ओलीलाई दिएका थिए । यसको पछाडि निगम डुबाउने गिरोहको ठूलो षड्यन्त्र छ । ढिलो चाँडो प्रधानमन्त्री ओलीले नेवानिमा आफूलाई आफैँले कसरी फसाए भन्ने कुरा चाल पाउनेछन् ।

प्रधानमन्त्रीलाई गुमराहमा राख्ने र आफ्नो स्वार्थसिद्ध गर्नेहरुको कथा यतिमै टुंगिदैन । प्रमका विकासविज्ञ घनश्याम भट्टराईले प्रधानमन्त्रीलाई गलत सुचना दिएर मेलम्ची खानेपानी योजनाको भविष्य अन्योल बनाए । मेलम्चीको ठेकेदार सीएमसीलाई सल्लाहकार भट्टराई, सचिव गजेन्द्र ठाकुरले भगाएका हुन् । सीएमसी भागेको होइन । सीएमसीलाई भगाएर नयाँ ठेकेदारहरुसँग कमिशन खाने सल्लाहकारको सल्लाहमा प्रधानमन्त्री फसेको कुरा अबका दिनमा थप खुल्दै जानेछ । किनभने सीएमसीका ठेकेदारले देश छाड्न अगाडि प्रधानमन्त्री ओलीसँग भेट्न खोजेका थिए । तर आफ्नो पोल खुल्ने डरले प्रमका सल्लाहकारले विदेशी ठेकेदारसँग प्रमलाई भेट्न दिएनन् ।

दिनरात प्रधानमन्त्रीलाई घेरेर बस्नेहरुले ओलीलाई गुमराहमा राखेर कति फाइदा उठाए भन्ने कुरा खोतल्दै जाने हो भने थाहा हुन्छ । अहिले पनि नागरिक उड्यान प्राधिकरणको महानिर्देशक पद जेठ १३ गतेदेखि खाली छ । उक्त पदमा राजन पोखरेललाई ल्याउन प्रधानमन्त्रीकै सल्लाहकारहरु लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न खाले ठेक्का लिनेहरुसँग सल्लाहकारहरुको उठबस छ । त्यसैले पोखरेल नेपाली कांग्रेसको पृष्ठभूमि भएका कर्मचारी भए पनि ‘इमान्दार’का नाममा पोखरेललाई महानिर्देशक बनाउने खेल सुरु भएको छ । पोखरेल कति इमान्दार हुन् भन्ने कुरा विगतमा उनीले ‘सेफ्टी डिपार्टमेन्ट’ सम्हाल्दाको हविगत हेरे पुग्छ । उनी सेफ्टी हेड हुँदा विभागीय मन्त्री रवीन्द्र अधिकारीले अनाहकमा ज्यान गुमाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्