Logo

‘फोकस आउट’ बन्दै मोडलिङ


एमपी सुब्बा


एमपी सुब्बा

काठमाडौं । मोडलिङ युवापुस्ताका लागि आर्कषणको क्षेत्र हो । ग्ल्यामरमा रमाउन चाहनेका लागि गीतसंगीत र फिल्मी दुनियाँपछिको विकल्प पनि मोडलिङ नै हो । किनकि, नेपालको सन्दर्भमा मोडलिङ गर्नुभन्दा सजिलो अरु कला छैन । त्यसैले पछिल्लो समय मोडलिङमा रमाउन चाहने युवायुवतीहरुको संख्या दिनानुदिन थपिँदैछ ।

मोडल : नताशा ब्लोन तामाङ
मेकअप : सरिता थापा मगर
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज, पुतलीसडक

नम्रता, केकी, बेनिशाहरु मोडलिङलाई भ¥याङ बनाएर फिल्मी दुनियाँमा प्रवेश गरेसँगै मोडलिङ क्षेत्रमा नयाँ पुस्ताको जगजगी हुन थाल्यो । त्यो जगजगी यसरी मौलाएको छ कि, ‘वर्षामा च्याउ पनि त्यति सप्रिँदैन होला ।’ तर, यसरी सप्रिएको मोडलिङको जगजगीले पुराना मोडलहरुलाई ‘म कुनै समय मोडल थिएँ’ समेत भन्न लजाउन थालेका छन् ।

तर, मोडलिङमै करिअर बनाउन चाहनेका लागि भने अझै चुनौती नै छ । अर्थात्, यहाँ मोडलिङलाई पेसा बनाउने अवस्था देखिँदैन । तैपनि, रहर र इच्छाले मोडलिङ अपनाउनेहरुको कमी छैन । यही रहरको होडले गर्दा मोडलिङ क्षेत्र ‘अराजक’मात्र नभएर ‘फोकस आउट’ बन्दै गएको छ ।

कुनैबेला मोडलिङ गर्ने मोडलहरुको ‘स्टारडम’ लोभ लाग्दो थियो । त्यो बेला सर्वसाधारणले ती मोडलहरुको ‘स्टारडम’ र ‘फेसनशैली’को कपि गर्थे । कुहिनुर सिंह, सरस्वती सुब्बा, कला सुब्बा, जयन सुब्बा, दिपक घिमिरे, झरना बज्राचार्य, रीमा विश्वकर्मा जस्ता मोडलहरुको ‘स्टारडम’ देखेर नेपाली मोडलिङ क्षेत्रमा थुप्रै नयाँ मोडलहरु उदाए ।

जस्तै, नम्रता श्रेष्ठ, बेनिशा हमाल, केकी अधिकारीहरु झरनाहरुकै ‘स्टारडम’ले लोभिएर मोडल बनेका हुन् । तर, पछिल्लो समय मोडलिङ क्षेत्र यस्तो बन्यो कि, ‘कतै काम नपाएपछि र केही गर्न नसकेपछि मोडलिङ गर्ने ।’ नेपाली मोडलिङ क्षेत्र ‘फोकस आउट’ हुनुको पहिलो कारण हो यो ।

नम्रता, केकी, बेनिशाहरु मोडलिङलाई भ¥याङ बनाएर फिल्मी दुनियाँमा प्रवेश गरेसँगै मोडलिङ क्षेत्रमा नयाँ पुस्ताको जगजगी हुन थाल्यो । त्यो जगजगी यसरी मौलाएको छ कि, ‘वर्षामा च्याउ पनि त्यति सप्रिँदैन होला ।’ तर, यसरी सप्रिएको मोडलिङको जगजगीले पुराना मोडलहरुलाई ‘म कुनै समय मोडल थिएँ’ समेत भन्न लजाउन थालेका छन् ।

‘फोकस आउट’को सुरुवात

पहिले–पहिले गीत भन्नेवित्तिकै सुन्ने भन्ने बुझिन्थ्यो । गीत सुन्ने नै हो । तर, इन्टरनेट र यु–ट्युबको पहुँच बढेसँगै ‘गीत हेर्ने’तिर ढल्कियो । पछिल्लो समय गीत सुनिँदैन, हेरिन्छ । हेर्ने गीतको लहर बढेसँगै म्युजिक भिडियोहरु धमाधम बन्न थाले । हिजोआज दैनिक दर्जनभन्दा बढी म्युजिक भिडियो बन्ने गरेका छन् ।

यसरी म्युजिक भिडियो निर्माण गर्ने होडसँगै नयाँ–नयाँ मोडलहरु जन्मिन थाले । दैनिक भिडियो निर्माण हुन थालेपछि मोडलहरुको समेत अभाव देखिन थाल्यो । जसले गर्दा गायक÷गायिकाहरुले आफ्नै मान्छे (दाजु, भाई, दिदी वा बहिनीहरु)लाई म्युजिक भिडियोमा खेलाउन थाले । अहिले नेपाली गीतसंगीत क्षेत्रमा यही प्रवृति विद्यमान छ ।

मोडलिङको ‘म’समेत थाहा नहुनेलाई एकैचोटी उठाएर मोडल बनाउन प्रवृतिले गर्दा यहाँ जो पनि मोडल बन्न थाल्यो । यहाँ एउटा गीतमा मोडलिङ गर्नेवित्तिकै आफूलाई ‘मोडल’ बन्ने मानसिकता छ । यस्तै प्रवृतिले गर्दा मोडलिङ क्षेत्र ‘फोकस आउट’ हुँदै गयो । अर्कोतिर एउटा गीतमा मोडलिङ गरेपछि पुनः अवसर नपाउँदा ती ‘मोडल’को करिअरमा समेत धक्का पर्न थाल्यो । एक पटक मोडल भएसकेपछि अन्य काम गर्न अप्ठ्यारो मान्ने र मोडलिङ वा कलाकारिता नै गरिरहँु भने अवसर नपाउने भएकाले मोडलिङको नाममा विकृति बढ्न थाल्यो । यो अहिलेको अवस्था हो । आफूलाई मोडल भन्ने तर काम नपाएपछि मुखमा माक्स लगाएर हिँड्ने ‘बेरोजगार मोडल’हरुको संख्या यहाँ दिनदिनै बढ्दै छ । यसको मुख्य कारण बढ्दो म्युजिक भिडियो निर्माण पनि हो ।

यहाँ केही बिकाउ मोडलहरु छन्, जसलाई लिएर जो–सुकै गायक-गायिकाले आफ्नो भिडियोमा खेलाउन हैसियत राख्दैनन् । उनीहरु सस्तो पारिश्रमिक भरसक विना पारिश्रमिक आफ्नो गीतको भिडियोमा काम गर्ने मोडल खोज्छन् । र, मोडलिङप्रति रहर र रुचि हुनेले उनीहरुको डिमाण्ड पूरा गर्दै आएका छन् । मोडलिङ क्षेत्र ‘फोकस आउट’ हुनुको यो दोस्रो कारण हो ।

ग्ल्यामर फोटोसुट

मोडलिङको पहिलो खुड्किलो मानिन्छ, फोटोसुट । यही मान्यतालाई धेरै मोडलहरुले अँगाल्दै आएका छन् । यहाँ ग्ल्यामर फोटोसुट गर्नेवित्तिकै ‘मोडल’ भइन्छ भन्ने मानसिकता पाइन्छ । त्यसैले यहाँ दिनदिनै फोटोसुटहरु भइरहेका छन् ।

कोही फिल्मको ‘हिरोइन’ बन्नलाई त कसैले ‘मोडलिङ’मा करिअर स्थापित गर्नका लागि फोटोसुट गर्छन् । तर, फोटोसुट गरिसेकेपछि उनीहरुले सोचेजस्तो हुन्न किनकि, राजनीतिमा जस्तै कलाकारितामा पनि अवसर पाउनका लागि ‘नातावाद’ र ‘कृपावाद’ हावी छ ।

त्यसैले फोटोसुट गरेर पनि कतै अवसर नपाएपछि ‘केही पाउन केही न केही गुमाउनुपर्छ’ भन्ने सोचमा पुग्छन् । यो विकराल अवस्था पछिल्लो समय झनै फस्टाउँदै गएको छ । जसले गर्दा मोडलिङ क्षेत्र झनै ‘फोकस आउट’ बन्दै गएको छ ।

‘मिस’हरु काम विना

सौन्दर्य प्रतियोगिता अर्थात ठेट नेपाली भाषामा ‘सुन्दरी प्रतियोगिता । यहाँ यस्ता प्रतियोगिताहरु दर्जनाँै हुन्छन् ।

प्रतियोगिता आयोजना गर्नुको उद्देश्य प्रतिभा भएहरुलाई ‘प्लेटफर्म’ अर्थात अवसर प्रदान गर्नु हो । तर, यहाँ आयोजना हुँदै आएका दर्जनौँ सौन्दर्य प्रतियोगिताका विजेता ‘मिस’हरु काम विना छन् । साता–तिना प्रतियोगिताको त कुरै नगरौँ, ‘मिस नेपाल’जस्ता सुन्दरी प्रतियोगिताबाट छनोट भएका ‘सुन्दरी’हरु समेत अधिकांश बेरोजगार छन् ।

पहिले–पहिले सुन्दरी प्रतियोगिता मोडलिङ गर्न चाहनेका लागि राम्रो ‘प्लेटफर्म’ मानिथ्यो । तर, च्याउसरी जात, धर्म, लिंग, टोलैपिच्छे विभिन्न नाममा सुन्दरी प्रतियोगिताहरु हुन थालेपछि ‘सुन्दरी’हरुको पनि गरिमा घट्दै गयो । हिजोआज कति ‘सुन्दरी’ छनोट गरिन्छ भन्ने राजधानीका कुनैपनि क्याफे र रेष्टुरेण्टमा जाँदा छर्लङ हुन्छ जबकि, जहाँ कुनै न कुनै सुन्दरी भेटिन्छन् । तर, तिनलाई कसैले वास्ता गरेको हुन्न । यसैबाट पनि नेपाली मोडलिङ क्षेत्र कतिसम्म ‘फोकस आउट’ भयो पनि स्पष्ट हुन्छ ।

वास्तवमा मोडलिङ क्षेत्र युवाका लागि राम्रो ‘प्लेटफर्म’ हो । तर, मोडलिङलाई रहर र रुचिको मात्र विषय बनाउँदा ‘बदनाम’ बन्दै गएको छ भने प्रतिभा भएहरुसमेत मोडलिङबाट विलिन हुन थालेका छन् ।

त्यसो त यहाँ कलाकारिता वा मोडलिङ गर्नलाई कुनै मापदण्ड छैन । मापदण्ड र नियामक निकायविनाको मोडलिङ साँच्चीकै रहर पूरा गर्ने एउटा माध्यम मात्र बन्दै आएको छ । तर, अन्तर्राष्ट्रिय मोडलिङ बजारमा भने यससम्बन्धी निश्चित मापदण्ड रहेको छ । यस्ता मापदण्ड राज्यले नभए सम्बन्धीत निकायका संघसंस्थाले बनाउने हो । अझैपनि मोडलिङसम्बन्धी निश्चित मापदण्ड बनाइयो भने नेपालमा मोडलिङको भविष्य उज्ज्वल छ ।

प्रतिक्रिया दिनुहोस्