Logo
Logo

प्रधानमन्त्रीको युरोप भ्रमण आजबाट : बेलायत र फ्रान्ससँग लगानी विषयमा छलफल हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ ।

प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ । नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको २०३ वर्ष मुलुक बेलायतसँग बेलायती गोर्खा सैनिकसँगको भावनात्मक सम्बन्ध पनि जोडिएको छ । फ्रान्ससँग भने ७० वर्षे द्विपक्षीय सम्बन्ध छ । यी विकसित मुलुकसँग नेपालले राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथ नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिपछि प्रधानमन्त्रीको यो विदेशयात्रा हुन लागेको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले द्विपक्षीय मामिलाका साथै आर्थिक विकास र समृद्धिको बाटामा बेलायतको लगानी भित्र्याउने, द्विपक्षीय व्यापार अभिवृद्धि र प्रविधिका क्षेत्रमा सहयोगका लागि यो भ्रमण उपलब्धिमूलक हुने बताएका छन् ।

डा भट्टराईका अनुसार “लामो समयदेखि सीमित क्षेत्रमा खुम्चिएको नेपालको परराष्ट्र नीतिलाई अहिलेको राजनीतिक स्थिरता र समृद्धिको लक्ष्यका सन्दर्भमा त्यसभन्दा बाहिर गएर नेपाल राष्ट्र र जनताको हितमा ती सम्बन्धलाई उपयोग गर्ने नीतिअनुसार यो भ्रमण हुन लागेको हो ।” भ्रमण दलमा करीब २२ जना सहभागी हुनेछन् ।

भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव, श्रम तथा रोजगार मन्त्रालयका सचिव लगायतको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्