Logo
Logo

सशस्त्रमा रासन अनियमितता, डिआइजीमाथि कार्बाही


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ जेठ ।

सिपाहीलाई बिदामा पठाएर उनीहरूको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डिआइजी कारबाहीमा परेका छन् । सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डिआइजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही शुरु गरेको हो ।

बाहिनीकै प्रहरीले गरेको उजुरीका आधारमा एआइजी नारायणबाबु थापा नेतृत्वको समितिले गरेको छानबिनमा अनियमितता भएको पुष्टि भएको थियो ।

समितिले केही दिनअघि आइजिपी शैलेन्द्र खनाललाई बुझाएको प्रतिवेदनमा तल्लो तहका प्रहरीको रासनभत्ता डिआइजीसहितका हाकिमले लिएको भन्दै कारबाहीको सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा सशस्त्रको मुख्यालयले कारबाही अघि बढाएको छ ।

‘जवानहरूलाई महिना लामो बिदामा पठाएर उनीहरूको रासनभत्ता लेखापालले नदिएको पाइयो,’ छानबिन समितिमा रहेका एक प्रहरी अधिकारीले भने, ‘डिआइजीको संलग्नताविना यस्तो सम्भव नभएकाले उहाँमाथि समेत कार्बाही गर्न भनेका छौँ ।’ छानबिन समितिले स्थलगत रूपमै अध्ययन गरेको थियो । सशस्त्रका प्रवक्ता सुरजकुमार श्रेष्ठले प्रतिवेदनमाथि अध्ययन भइरहेको बताए ।

यसरी हुन्छ अनियमितता

सशस्त्र प्रहरी ‘रिजर्भ फोर्स’ भएकाले दैनिक ड्युटीमा खटिनुपर्दैन । त्यसैले कार्यालय प्रमुखले धेरै प्रहरीलाई एकैपटक बिदा दिने गर्छन् । कतिपय कार्यालयमा सिपाही–हवल्दारलाई एक महिनासम्म समेत बिदा दिने गरिन्छ । कतिपय गणले एकैपटक सयभन्दा धेरैलाई बिदामा छाड्ने गर्छन् । एक प्रहरीले औसतमा दैनिक करिब एक सय ७५ रुपैयाँ रासनभत्ता पाउँछन् । रासनभत्ता हरेक जिल्लामा फरक छ ।

एक महिना बिदा दिएर दुई–तीन दिन मात्र बिदा दिएको देखाउने र बिदा बसेको समयको समेत हाजिर गर्न लगाइन्छ । बिदा बसेको अवधिको रासनको नगद नै दिनुपर्ने हुन्छ । तर, लेखापालहरूले त्यस्तो पैसा तल्ला तहका प्रहरीलाई दिँदैनन् । यसरी लेखापाल र कार्यालय प्रमुख मिलेर सिपाहीको रासन हडप्ने गरिँदै आएको छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

मेस सञ्चालन गर्दा पनि तोकेअनुसार खाना नदिने तथा बिदाका नाममा अनियमितता हुने गरेका उजुरी मुख्यालयमा पर्ने गरेका छन् । कतिपयले लामो बिदा बस्न पाएपछि त्यो अवधिको रासनभत्ता नलिने गरेका छन् । बिदामा रहेका कर्मचारीको विवरण दैनिक प्रहरी मुख्यालयमा टिपाउनुपर्ने प्रावधान लागू गरिए पनि बिदा दिएको संख्या लुकाउने गरेको समेत छानबिनमा खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्