Logo
Logo

प्रधानमन्त्री कार्यालयको अर्को मूर्खता, लुम्विनीबाट सौर्य ऊर्जा स्टेशन हटाइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । लुम्विनीलाई प्रदुषणमुक्त क्षेत्र बनाउने एशियाली विकास बैंकको सपनामाथि प्रधानमन्त्री केपी शर्मा ओलीले तातोपानी खन्याइदिएका छन् । लुम्विनीमा बढ्दो प्रदुषणलाई नियन्त्रण गर्न एडिबीले पाँचवटा विद्युतीय बसका साथै सौर्य ऊर्जाबाट सञ्चालन हुने चार्जिङ स्टेशन निर्माणको कार्य अगाडि बढाएको थियो । लुम्विनी विकास कोषअन्तर्गत सञ्चालन गर्ने गरी काठमाडौँ भित्रिएको ५ वटा बिजुली बस बीवाईडी पार्क, भाटभटेनीमा थन्किएको छ भने लुम्विनीमा निर्माणाधीन सोलार प्लान्ट प्रधानमन्त्रीको निर्देशनमा स्थगित गरिएको छ । १३ करोड रुपैयाँमा निर्माण हुँदै गरेको सोलार स्टेशनको काम अन्तिम चरणमा पुगेको थियो । प्रधानमन्त्री कार्यालयबाट काम रोक्ने आदेश आएपछि काम अलपत्र परेको छ ।

अनुसन्धानको लागि अमेरिकाबाट भैरहवा लुम्विनी आएका विज्ञहरुले यहाँँको प्रदुषण देखेर छक्क परे । उनले आफ्नो अनुभव सुनाउँदै भनिन् उनीहरु विना मास्क कहिल्यै बाहिर हिडेनन् तर यहाँ सर्वसाधरणहरु निकै सहज रुपमा हिडडुल गर्दछन् । जुन भविष्यमा मानवजीवनको लागि खतरा हो । प्रदुषणका कारण आँखा रोग, श्वास प्रश्वास समस्या, एलर्जी, लगायत शरीरमा धेरै समस्या उत्पन्न हुने गर्दछ । बढ्दो प्रदुषणका कारण यस क्षेत्रमा आउने पर्यटकका साथै स्थानीय विरामीको संख्या पनि बढ्दो क्रममा रहेको भैरहवा भिम अस्पतालका चिकित्सक सुवर्ण पौडेल बताउँछन् ।

लुम्विनीमा बढ्दो वायु प्रदुषणका कारण पुरातात्विक महत्वका वस्तुहरु प्रदुषणको चपेटामा परेको र हजारौँ पर्यटकले ‘माक्स’ लगाएर हिँड्नुपर्ने बाध्यतालाई हटाउन एडिबीले उक्त सहयोग गरेको थियो । तीन वर्षभित्र लुम्विनी क्षेत्रमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर त्यसको ठाउँमा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने उद्देश्यले पाँच वटा विद्युतीय बस खरिद गरिएको हो । जुन बसको प्रधानमन्त्री ओलीले गत कात्तिक ६ गते साझा यातायातको प्राङ्गणमा शुभारम्भ गरेका थिए । एडिबीले खरिद गरेको उक्त बसमा कमिशन खान नपाएको झोकमा तत्कालीन सचिव कृष्ण देवकोटाले विभिन्न निहुँ झिकेर बस सम्झौता रद्द गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री ओली प्रदुषणप्रति चिन्तित भएको भए बस चार्जिङ स्टेशन होइन, भैरहवादेखि लुम्विनीसम्मका सिमेन्ट र अन्य उद्योग हटाउनेतर्फ लाग्नुपर्ने थियो ।

भैरहवास्थित पत्रकार सलमान खानको रिपोर्टअनुसार सन् २०१७ मा लुम्विनी वरपर क्षेत्रको दुई स्थानमा प्रदुषण मापन केन्द्र जडान गरेर इन्डोर प्रदुषणको अवस्थाबारे तथ्यांक संकलन गरेको थियो । उक्त तथ्यांकमा जाडोयाममा वायु गुणवत्ता सुचकांक ३ सय ५० देखि चार सय सम्म पाइएको थियो । जबकी १ देखि ५० सम्म वायु गुणवत्ता सुचकांकलाई स्वच्छ र राम्रो मानिन्छ । जाडोयाम भन्दा वर्षायाममा वायु गुणवत्ता सुचकांक कम थियो । वर्षायामा १ देखि ५० भित्रै वायु गुणवत्ता सुचकांक थियो भने गर्मीयाममा २ सय ५० देखि २ सय ७५ वायु गुणवत्ता सुचकांक पाइएको थियो । रिपोर्ट अनुसार यस क्षेत्रमा कोठा भित्र पनि स्वच्छ वायु छैन ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन्– यसलाई समान्य रुपमा लिनु हुदैन । यदि समयमै नियन्त्रण नगर्ने हो भने भविष्यमा अस्पतालले समेत विरामीको संख्या थेग्न सक्दैन ।

इन्डोर प्रदुषणको रिपोर्ट आएपछि सन् २०१८ को डिसेम्बर देखि आउटडोर (कोठाबाहिर खुल्ला आकाश) को लुम्विनी वरपर भैरहवा, धकधई र बुटवल गरी ३ क्षेत्रमा प्रदुषण मापन यन्त्र जडान गरेर उक्त क्षेत्रको प्रदुषणको अवस्थाबारे खोज–अनुसन्धान भइरहेको कार्यकारी निर्देशक थापाले बताइन् ।

तथ्यांकअनुसार यी तीन क्षेत्रहरुमा पनि वायु गुणवत्ता सुचकांक कोठाभित्र भन्दा बढी देखिएको छ । यी क्षेत्रहरुमा ४ सय देखि ४ सय ५० सम्म वायु गुणवत्ता सुचकांक पाइएका छन् । तर अहिले यी क्षेत्रहरुमा भइरहेको खोज–अनुसन्धानको रिपोर्ट आएको छैन । तर, इन्डोरको रिपोर्ट र हाल सम्मको आउटडोरको तथ्यांकलाई विशलेषण गर्ने हो भने अवस्था उस्तै भयावह नै देखिन्छ उनले भनिन् ।

हाम्रो खोज अनुसार यस भेगको प्रदुषणले मानवजीवनमा धेरै असर गरिरहेको छ उनले भनिन् यसका लागि सर्वसाधरणले सजगता अपनाउनुका साथै समाजमा जनचेतना फैलाउन निकै आवश्यक छ । उपग्रहको माध्यमले पनि यस क्षेत्रको प्रदुषण खोज–अनुसन्धान गर्नका लागि युनिर्भसिटी अफ न्यू मेक्सिको र नासाका वैज्ञानिकहरुसगँ संवाद भैरहेकोले छिट्टै उपग्रह र प्राविधिक मापन यन्त्र दुवैले लुम्विनी क्षेत्रको प्रदुषणबारे थप खोज–अनुसन्धान गरिने उनले जनाइन् ।

अनुसन्धानको लागि अमेरिकाबाट भैरहवा लुम्विनी आएका विज्ञहरुले यहाँँको प्रदुषण देखेर छक्क परे । उनले आफ्नो अनुभव सुनाउँदै भनिन् उनीहरु विना मास्क कहिल्यै बाहिर हिडेनन् । तर, यहाँ सर्वसाधरणहरु निकै सहज रुपमा हिडडुल गर्दछन् जुन भविष्यमा मानवजीवनको लागि खतरा हो । प्रदुषणका कारण आँखा रोग, श्वास प्रश्वास समस्या, एलर्जी, लगायत शरीरमा धेरै समस्या उत्पन्न हुने गर्दछ । बढ्दो प्रदुषणका कारण यस क्षेत्रमा विरामीको संख्या पनि बढ्दो क्रममा रहेको भैरहवा भिम अस्पतालका चिकित्सक सुवर्ण पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्