Logo
Logo

मानवतस्करीमा सांसद जोडिएपछि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । देशमा मानवतस्करीका घटना यसरी बढेका छन् कि यससम्बन्धी अनुसन्धानका लागि छुट्टै ब्यूरो नै गठन गर्नुपर्ने अवस्था आयो । एसएसपीको कमाण्डमा दुई महिनादेखि मानव बेचबिखन नियन्त्रण ब्यूरो सञ्चालनमा आइसकेको छ । नियमावली नहुँदा आफैं मुद्दा चलाउन नपाएको ब्यूरोले सिंहदरबार वृत्तको लेटरप्याडमा मुद्दा चलाउँदै आएको छ ।

ब्यूरोले मानवतस्करीका दर्जनौं उजुरीउपर छानबिन अघि बढाएको छ । एक छानबिनमा सांसद नै मानव तस्करीको गिरोहमा संलग्न रहेको खुलेपछि प्रहरी अधिकारीहरु चकित भएका छन् । तर, अनुसन्धानकै क्रममा ती सांसदको दुर्घटनामा मृत्यु भएको खुलेको छ । गत माघमा दुर्घटनामा ज्यान गुमाएका दाङका प्रदेशसभा सांसद उत्तरकुमार वलीको संलग्नता देखिएको ब्यूरोको अनुसन्धानमा खुलेको हो । पक्राउ परेका टोपबहादुर जीसीले वलीकै निर्देशनमा आफूहरुले पैसा उठाएको बताएका हुन् । त्यससम्बन्धी विभिन्न प्रमाणसमेत उनले दिएका छन् । तर, वलीको मृत्यु भइसकेकाले प्रहरी अन्योलमा छ ।

अमेरिका पठाउने भन्दै सो समूहले ६० लाख रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ । त्यसरी अवैध रुपमा अमेरिका गएका केही युवा लाखौं सिध्याएर डेढ वर्ष जेल बसेर फर्किएका छन् । कपितय बीच बाटोबाटै फर्किएका थिए । उनीहरुलाई शोषण समेत गरिएको थियो ।

विगतमा अवैध बाटोबाट कतिपयलाई सो समूहले अमेरिका पठाएको समेत थियो । विगतमा सीमा क्षेत्रमा प्रवेश गरेपछि अमेरिका बस्न पाइने भएकाले यस्तो शैली अपनाउने गरिन्थ्यो । तर, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपनि उनले कडाई गरेका छन् । त्यसकारण धेरै जना लाखौं सिध्याएपछि अलपत्र पर्ने गरेका छन् । जसकारण लाखौं लिएर नेपालीलाई अमेरिका मानवतस्करी गर्ने गिरोहहरुको समेत भागाभाग भएको छ ।

प्रतिक्रिया दिनुहोस्