Logo
Logo

शहरी विकास ताक्दै ठाकुर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सरकारले केही सचिवहरु चलाउने तयारी गरेको छ । सचिवहरु चलाउने क्रममा मेलम्ची खानेपानी डुबाउने विवादास्पद सचिव गजेन्द्र ठाकुर सहरीमा जाने दाउमा लागेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र सामान्य प्रशासन मन्त्रालयका यादव कोइराला अख्तियारमा सरुवा हुँदैछन् । अख्तियारका सचिव महेश्वर न्यौपानेलाई भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लैजाने चर्चा छ । यद्यपि, उनी गृहमन्त्रालयमा सरुवा हुने योजनामा लागिरहेका छन् । गृहमन्त्रालयका सचिव प्रेमकुमार राई अख्तियारमा नियुक्त भएबाहेक उनको विकल्प खोज्ने अवस्था नभएकाले न्यौपानेको योजना पूरा हुने संभावना कम छ ।

मेलम्ची आयोजनामा भाँडभैलो मच्चाउने र ठेकेदार कम्पनी सीएमसीलाई भगाउने मुख्य दोषी सचिव ठाकुर सहरी विकास मन्त्रालयमा सरुवा हुन दैनिक जसो समाजवादी पार्टी नेपालका नेताहरुकोमा धाइरहेका छन् । खानेपानी मन्त्रालयको सचिव हुँदा मेलम्ची आयोजना असफल पार्ने सचिव ठाकुरलाई नेपाल ट्रष्टमा सरुवा गरिएको थियो । अरबौंका आयोजनामा ४० प्रतिशतसम्म कमिसन खान पल्किएका ठाकुर नेपाल ट्रष्टमा तलव मात्र आउने भएपछि दिनरात सहरी विकास मन्त्रालयमा सरुवाका लागि लबिङ गरिरहेका छन् । समाजवादी पार्टी नेपालका नेताहरुलाई उनले ठूलो रकमकै प्रलोभन दिएर सरुवा हुने दाउमा छन् । भौतिक पूर्वाधार मन्त्रालय, सिंचााई मन्त्रालय, खानेपानी मन्त्रालयमा हुादा उनी विकास आयोजनाको भ्रष्टाचारमा मुछिएका थिए ।

सिंचाई मन्त्रालयमा हुँदा कर्मचारी सरुवामा पनि घुस मागेपछि सबै कर्मचारीले उनीबिरुद्ध हस्ताक्षर अभियान नै चलाएपछि तत्कालीन सरकारले उनलाई विज्ञान मन्त्रालयमा सरुवा गरेको थियो । खानेपानी मन्त्रालयमा हुँदा साना सहरी खानेपानी आयोजनाको बीसौं अर्बको ठेक्का लगाउादा पनि उनले सेटिङ गरेका ठेकेदारलाई ठेक्का दिएर करोडौं घुस लिएको थिए । जहाँ हुँदा पनि भ्रष्टाचारमा मुछिएका ठाकुर अब सहरी विकास मन्त्रालयमा सरुवा हुने र सहरी विकास तथा भवन विभागका अरबौका ठेक्कामा घुस खाने तानाबाना बुनिरहेका छन् । सचिव ठाकुरले पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरेृको उजुरीमा अख्तियार दुरुपयोृग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्