Logo
Logo

मलाई नाचेरै खान पुगेको छ- सुनिता बस्नेत, कोरियोग्राफर तथा नृत्यांगना


- दृष्टि न्युज/संवाददाता


नृत्य कोरियोग्राफर तथा नृत्यंगना सुनिता बस्नेत पर्दा पछाडि रमाउन चाहन्छिन् । कला क्षेत्रमा रमाउने अधिकांश पर्दा अगाडि चर्चामा आउन चाहन्छन् । तर, त्यो रुचि उनीमा छैन । सुनिता घरमै दैनिक ४÷५ घण्टा नृत्य गर्छिन् । तर, उनको सपना फिल्ममा हिरोइन बन्नु छैन । नृत्य क्षेत्रमै दुई दशकभन्दा बढी समय विताइसकेकी सुनिताका चेला मात्र एक सयभन्दा बढी छन् । २०५९ सालमा एसएलसी सकेसँगै नृत्य पेसा अँगालेकी सुनिता भन्छिन्, ‘मेरो लागि नृत्य नै सबैथोक हो ।’ काठमाडौंको कालिमाटीकी सुनिता बाल्यकालमा चित्रकला र खेलकुदमा रुचि राख्थिन् । तर, अहिले उनी कुसल नृत्यांगना भएकी छन् । दर्जनौँ म्युजिक भिडियोमा कोरियोग्राफी गरिसकेकी एक कुसल नृत्यांगना तथा कोरियोग्राफर सुनितासँग एमपी सुब्बाको जम्काभेट :

सुनिता बस्नेत, कोरियोग्राफर तथा नृत्यांगना

हिजोआज के गर्दै हुनुहुन्छ ?

डान्स प्रशिक्षणमै व्यस्त छु । मैले विभिन्न स्कुलहरुमा डान्स सिकाउँछु । फुर्सद भएको बेला आफैँ पनि अभ्यास गर्छु ।

नृत्य क्षेत्रमा लागेको कति भयो ?

दुई दशकभन्दा धेरै भइसक्यो । २०५९ सालमा एसएलसी सकेलगत्तै डान्स टिचरका रुपमा काम गर्न थालेकी हुँ । त्योभन्दा पहिलो स्कुलमै डान्स गर्थेँ । तर, टिचर भएको चाहिँ एसएलसी सकेर मात्र हो ।

नृत्यमै यतिका वर्ष विताउँदा कस्तो लागिरहेको छ ?

एकदमै रमाइलो । मेरो इच्छा भनेपनि रुचि भनेपनि नृत्य नै हो । त्यसैले खुसी छु । यहाँसम्म आउँदा सबैबाट माया र सर्पोट पाएकी छु । घर परिवारबाट पनि मलाई सर्पोट मिलेको सबैबाट माया र सर्पोट पाएकी छु । घर परिवारबाट पनि मलाई सर्पोट मिलेको छ ।

यहाँसम्म आउँदा फिल्म र मोडलिङ किन गर्नुभएन ?

मेरो रुचि पर्दा पछाडि रहेर काम गर्नु हो । मलाई मोडलिङ र अभिनय गर्ने इच्छा कहिल्यै जागेन । अहिले पनि छैन ।

फिल्ममा कोरियोग्राफी गर्नु भएको छ कि छैन ?

फिल्ममा त अहिलेसम्म गरेकी छैन । अफर नआएर होइन, मसँग समय नभएर हो । विवाह गरेपछि बाबु भयो । फिल्मका लागि भ्याल्ली बाहिर जानुपर्ने हुन्छ । त्यो समय म सँग भएन । अबचाहिँ अफर आयो गर्छु ।

विवाहको कुरा निकालिहाल्नुभयो । तपाइँको मागी कि प्रेम विवाह ?

मेरो मागी विवाह नै हो । घरका आमा–बाबुले रोजेकै केटासँग विवाह गरेकी हुँ ।

नृत्य क्षेत्रमा रहेर पनि विवाहअघि कसैसँग प्रेम भएन ?

अँह, एसएलसी सक्नुअघिसम्म सानै थिएँ । जब एसएलसी सकेँ, तब म नृत्यमै व्यस्त भएँ । काममै व्यस्त हुँदा लभ गर्नेतिर ध्यान नै गएन ।

यो क्षेत्रमा तपाइँको श्रीमानको सर्पोट कस्तो छ ?

उहाँ एकदमै सर्पोट गर्नुहुन्छ । उहाँकै सपोर्टले अहिले म यहाँ छु । श्रीमानले मात्र नभएर परिवारले नै मेरो पेसालाई सम्मान गरेर सर्पोट गर्नु भएको छ ।

तपाइँ बढी कुन नृत्य गर्नुहुन्छ ?

स्कुलमा सिकाउँदा बढी कल्चरल नै हुन्छ । म आफैँ स्टेजमा नृत्य गर्दाचाहिँ मोर्डन गर्छु । अहिले त स्कुलमा पनि मोर्डन सिकाइन्छ । पहिले जस्तो होइन । अहिले त मोर्डनसँगै बि–वोइङ, हिपअप पनि हुन्छ ।

नृत्य क्षेत्रमा आम्दानी कस्तो छ ?

राम्रै छ । नृत्य सिकाएरै र नाचेरै मलाई खान–लाउन पुगेको छ । खाश भन्ने हो भने अहिले नृत्यलाई पेसा बनाउन गाह्रो छैन । पछिल्लो समय कला भएपछि बाँच्न सकिने अवस्था सिर्जना भएको छ ।

नृत्यमै रमाउने प्रेरणाचाहिँ को–बाट पाउनुभयो नि ?

म पढेको स्कुलमा राजेन्द्र प्रसाइँ भन्ने हुनुहुन्थ्यो । मैले उहाँबाटै प्रेरणा पाएकी हुँ । स्कुल पढ्दै म राम्रो नृत्य गर्थेँ । उहाँले हरेक स्टेज कार्यक्रममा मलाई नै नृत्य गर्न लगाउँनुहुन्थ्यो । त्यसैले मेरो गुरु भनेपनि प्रेरणा भनेपनि उहाँ नै हो ।

प्रतिक्रिया दिनुहोस्