Logo
Logo

धुलाम्मे लुम्विनी सडक


- दृष्टि न्युज/संवाददाता


भैरहवा । करोडौँ रुपैयाँ फजुल खर्च गरेर मनाउन लागिएको लुम्बिनी भ्रमण वर्षलाई बुद्धजन्मस्थलको स्वागतद्धार भैरहवा देखि जन्मस्थल लुम्बिनीसम्म निर्माणधिन धुलाम्मे सडकले भने गिज्याउँदै छ । भैरहवा देखि लुम्बिनीसम्म २२ किलोमिटर सडक पुरै धुलाम्मे छ । सडकमा उड्ने धुलोका कारण दिउँसै अध्याँरो हुन्छ । भैरहवा देखि लुम्बिनीसम्म पुग्नका लागि निकै कष्टपुर्ण यात्रा गर्नुपर्छ । अहिलेको अवस्थामा पहिलो पटक आएको पर्यटक पुन लुम्बिनी नआउने निर्णय लिन सक्ने अवस्था पुग्न सक्छन् । लुम्बिनी देखि कपिलवस्तको तौलिहवासम्मको सडकखण्डको स्थिती पनि उस्तै छ । अत्याधिक धुलोको कारण माक्सले काम गर्दैन् । भैरहवा–लुम्बिनी–तौलिहावा सडकखण्ड (४१.१ किलोमिटर) को निर्माण ढिलोगतिमा छ ।

धुलाम्मे भएको लुम्बिनीको प्रवेशद्धार ।

हामीले पनि निर्माणकार्य अलिकत सुस्त महसुस गरेका छौँ भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका प्रमुख प्रदिप शाक्यले भने तर, समयमै निर्माणकार्य सक्ने गरी ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौँ ।

२०२० जनवरी सम्ममा सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिले सम्म ३०–३५ प्रतिशत मात्रै सम्पन्न भएको उनले बताए । आयोजनाका अनुसार यस समयावधि भित्र ५०–६० प्रतिशत काम सम्पन्न भइसक्नु पर्ने थियो । तर, यस हिसाबले आयोजना समयमै सम्पन्न हुन नसक्ने देखिएको छ । ठेकेदार निर्माणकार्यको ठेक्का पाएको भारतीय कम्पनी गवाँर कन्सट्रक्सनको व्यवस्थापनको कमजोरी र निर्माण साम्रगीको अभाव भएकोले निर्माण कार्य सुस्त गतिमा रहेको प्रमुख शाक्यको भनाई छ ।

धुलाम्मे सडकले पर्यटकको स्वागत

प्रदेश सरकारले पूर्वाधार निर्माणमा ध्यान नै नदिई लुम्बिनी भ्रमण वर्ष मनाउन तयारी गरेकोमा स्थानीय रुष्ट छन् । प्रदेश सरकारले पर्यटकलाई धुलो खुवाएर स्वागत गर्ने योजनामा देखिएको स्थानीय बताउँछन् । सिद्धार्थ होटल एशोसिएसनका उपाध्यक्ष विष्णु गौतमले प्रदेश सरकारले हतारमा लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको बताए ।

लुम्बिनी जाने बाटो राम्रो छैन । सडक निर्माणाधिन अवस्थामा छ उनले भने पुलहरुको अवस्था पनि त्यस्तै छ । कम्तीमा पूर्वाधार निर्माणको कामलाई सकेर भ्रमण वर्ष मनाएको भए राम्रो हुने थियो ।

लुम्बिनी सम्बन्धी जानकार तथा संस्कृतिविद् डा.गितु गिरीले लुम्बिनी मार्गको अवस्थाले गर्दा सोचे अनुसार पर्यटकहरु आउनेमा आशंका व्यक्त गरे । लुम्बिनी जाने प्रमुख मार्ग भनेको सडक नै हो । भैरहवामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको काम पनि भइरहेको छ उनले भने पूर्वाधार निर्माणको कामलाई तिव्रता दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्