Logo
Logo

विषादी प्रयोग गरिएका ४० कार्टन आँप नियन्त्रणमा


- दृष्टि न्युज/संवाददाता


इटहरी । इटहरी उपमहानगरको बजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि (कारवाइड) प्रयोग गरेर पकाएको आँप भेटिएपछि नियन्त्रणमा लिइएको हो । इटहरीमा अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको हो । त्यो पोको खोलेर हेर्दा सेतो धुलो भेटिएपछि कारवाईड भएको पत्ता लागेको हो । कार्वाइड नेपालमा प्रतिबन्धित छ । कारवाईड प्रयोग गरेर पकाएको आँपको ४० कार्टुन उठाएर उपमहानगरमा ल्याइएको छ ।

उपमहानगरमा ल्याएर अनुगमन टोली, उपभोक्ता मञ्च, र सञ्चारकर्मीको रोहबरमा मुचुल्का उठाइएको छ । विषादीयुक्त आँपलाई नष्ट गरिने उपमहानगरले निर्णय गरेको छ । खाद्यविज्ञ केपी लम्सालका अनुसार कारवाईड प्रयोग गरिएको आँप खाँदा पाचन प्रणालीमा असर पर्ने हुन्छ । लम्सालले आँखा र छालामा पनि विषादी मिसिएका आँपले असर पार्ने पार्छ । कारवाईड हालेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायतका शारीरिक समस्या उत्पन्न हुनुकासाथै गम्भिर प्रकारको क्यान्सरसमेत हुनसक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप इटहरीमा खुलेआम बिक्री भइरहेको पाइएपछि उपमहानगरले बजार अनुगमन गरेको उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाइले बताउनुभयो ।

कारवाईड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि हानिकारक हुने अनुगमनमा सहभागि उपभोक्ता हित मंचका प्रतिनिधि डिल्ली दाहालले बताउनुभयो ।
त्यस्तै अर्का सहभागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका खाद्य निरीक्षक सिर्जन जोशीले भने–नेपालमा कारवाईड प्रतिबन्धित छ, यसले आँप पकाउन पाइँदैन ।’

कारवाईड प्रयोग गरेर पकाईको आँपको भेट्ना आसपास साह्रो हुन्छ, भने आँपको अन्य ठाउँ कमलो हुन्छ, पाकेको देखिन्छ । चिकित्सकका अनुसार कारवाईड प्रयोग गरेर पकाइएको आँपको रंग, स्वाद र बास्ना पनि विकास भएको हुँदैन । कारवाईडबाट ग्यास निस्कन्छ, जसले आँप पकाउन मद्दत गर्छ । कारवाईड प्रयोग गरेर पकाएको आँप खाँदा क्यान्सर समेत हुने भएकाले नेपालमा यसको प्रयोग बन्द गरिएको हो ।

खाद्य ऐन २०२३ को दफा ५ उपदफा ३ मा कारवाईड प्रयोग गरेमा सात महिनादेखि एक वर्षसम्म कैद र पाँच देखि दश हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कार्वाइड हालेको आँप वेच्न राखेको पाइए उपमहानगरमा तुरुन्त खवर गर्न उपभोक्ता सँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्