Logo
Logo

नेपाल वायुसेवा निगम खाँदै नोकरशाही पूँजीवाद


- दृष्टि न्युज/संवाददाता


नेपाल वायुसेवा निगम सरकारी स्वामित्व भएको कम्पनि हो । अरु नीजि कम्पनीहरु नाफामा छन् । तर सरकारी वायुसेवा कम्पनी भने निरन्तर घाटामा रहेको छ । यसरी घाटामा जानुको मूख्य कारण ठुला नेताहरु र नेपाल वायुसेवा निगमका केही मुठ्ठीभर ठुला कर्मचारीहरुको लूटतन्त्र हो ।

नेपाल वायुसेवा निगम काण्डै काण्डले भरिएको छ । विमान किन्दा अरबौं रकम भ्रष्टाचार भएको आरोप सहित संसदिय समितिले नै रिपोर्ट दिएको छ । तर सरकारले यसमाथि कारवाही छिटो नगरी ढाकछोपको प्रयास गरिरहेको छ ।

अहिले एक राष्ट्रिय दैनिक नयाँ पत्रिकाले वुधवार र विहिवार लगातार यसवारे मूख्य समाचार नै छापेको छ र यस भित्रका गम्भीर अनियमितताहरु वाहिर ल्याएकोछ । चीनवाट ल्याइएका ६ वटा मध्ये ५ वटा जहाजलाई जानाजान ग्राउण्डेड अर्थात नचलाइकन राखिएको छ । ३ वटा ट्वीनअटर जहाज मध्ये १ वटा वर्षौैं देखि ग्राउण्डेड गराइएको छ । २ वटा एम ए ६० जहाज मध्ये एक वटा ग्राउण्डेड गराइएको २ वर्ष भैसक्यो । चलाउन सकिने जहाजपनि उपयुक्त व्यवस्थापन र आवश्यक मर्मत गरी नचलाउनाले निगमलाई वर्षमा ७५ करोड ६० लाख घाटा हुने उक्त समाचारमा जनाइएकोछ ।

यसो गर्नुको कारण नीजि क्षेत्रलाई पोस्नु हो । नीजि एअरलाइन्सले यसो गरेवापत सरकारी निगमका ठुला कर्मचारी केहीलाई करोडांै घुस ख्वाउने गरेको आरोप लाग्र्दै आएको छ ।

अन्तर्राष्ट्रिय उडान गर्ने वाइडवडी दैनिक १८ घण्टा उड्न सक्ने भएपनि हाल ९ घण्टा मात्र उडाइरहेको छ । न्यारोवडी जहाज दैनिक १६ घण्टा उड्न सक्ने भएपनि हाल ९ घण्टा १५ मिनेट मात्र उडि रहेको छ । जापान र कोरियामा विभिन्न वहाना देखाएर उडान गरिएको छैन । भारतमा जेट एअरको उडान पूरै रद्द भएपछि त्यहाँ उडान संख्या थप्न सकिने भएपनि सो काम निगम नेतृत्वले गरेन । दुबइ उडान दैनिक भएकोमा सातामा तीन दिन माात्र गरियो । यी सबै कुकर्म विदेशी एअरलाइन्स पोस्ने र भ्रष्टाचार गर्ने नियतले भएको आरोप छ ।

यस्ता अनेकौं भ्रष्ट कामहरुमा निगम नेतृत्व फँसेको छ । अहिले पर्यटन मन्त्रालय स्वयम् प्रधानमन्त्री ओलीले सम्हाल्नु भएको छ । तर निगमको अनियमितता र भ्रष्टाचारमा मौन वस्नु भएको छ ।

नीजि क्षेत्रले गरे नाफामा जाने, तर सरकारी निकायले गरे घाटामा जाने हुनुलाई राजनैतिक अर्थशास्त्रमा नोकरशाही पूँजीवादको समस्या भनिन्छ । नोकरशाही पूँजीवादलाई प्रतिक्रियावादी पूँजीवादपनि भनिन्छ । विकसित पूँजीवादी देशहरुमा सरकारी स्वामित्व भएका यस्ता व्यावसायिक संस्थाहरुलाई पनि नाफा आउने गरी चलाइएको हुन्छ । नेपाल वायुसेवा निगम स्थापना भएकै समयमा वनेको थाइ एअरवेज अहिले संसार प्रशिद्ध छ र नाफामा चलिरहेको छ ।

नेपालमा पंचायती व्यवस्था परिवर्तन भएपनि नोकरशाही पूँजीवादी अर्थतन्त्र परिवर्तन भएन । सरकारी जनकपुर चुरोट कारखाना, वीरगंज चीनी कारखाना आदि घाटामा जाने तर नीजि कारखानाहरु नाफामा जाने क्रम पंचायती व्यवस्था देखि नै शुरु भयो ।

जबसम्म सरकारी स्वामित्वका संस्थाहरुमा यस्तो नोकरशाही पूँजीवादको वोलवाला हुन्छ, तब सम्म देशको आर्थिका रुपान्तरण र विकास तीब्र गतिमा हुन सम्भव छैन । यस समस्या को मूल जड प्रधानमन्त्री र अर्थमन्त्री तथा सम्वन्धीत संस्थानका मन्त्रीमा गएर ठोक्किने गरेको हुन्छ । उनीहरु नै सरकारी संस्थानवाट नीजि फाइदा उठाउन लागे सम्म नोकरशाही पूँजीवादले जनताको सम्पतिवाट स्थापना भएका यस्ता सरकारी संस्थानहरुको ध्वंश जारी रहन्छ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्