Logo
Logo

माछापुच्छरे बैंकको थप ४ नयाँ शाखा तथा १२ शाखारहित बैंकिङ सेवा शुभारम्भ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ । बैंकले २०७६ जेठ २८ गते मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोही जिल्लाकै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा २०७६ जेठ ३० गते बिहीबार झापा जिल्लाको भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी (चाराली रोड) र सोही जिल्लाकै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।

सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरेका थिए । त्यसैगरी झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे भने काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले उद्घाटन गरेका थिए ।

यसैगरी बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दियालगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुका साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११० शाखाहरु र ११२ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २२२ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १२९ एटीएमहरु सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्