Logo
Logo

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।

युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि विभानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत पुगेका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्