२०६२ साल ५ असोजमा रुकुमको चुनवाङमा आयोजित तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समितिको पूर्ण बैठकमा केन्द्रीय साँस्कृतिक विभागले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
कार्यक्रममा ‘युद्ध मैदानबाट फर्किंदा’ नामका ओपेरा प्रस्तुत गरियो । जुन ओपेराको एउटा अंश अहिले पनि सामाजिक संजालमा भेटिन्छन् । जहाँ प्रचण्ड, बाबुरामसहित सयौं जनमुक्ति सेना धुरुधुरु रोएका छन् ।

दृश्यमा– लडाइँमा शहीद भएका श्रीमानको खबर लिएर लालसेना आउँछन् । दूधेबालक बोकेर शहीद पत्नि गीतमार्फत लालसेनालाई अनुरोध गर्छिन, निर्देशन दिन्छिन्, आट र भरोसा थप्छिन– जित्नैपर्छ यो अन्तिम लडाईँ तिमीले लडेर, फाटेका आङहरु, रोएका मनहरु बसेका छन् नयाँ दिन पर्खेर…
उक्त अंशले नै कठोर मन बनाएर युद्धमा होमिएका युद्ध कमाण्डहरु धुरुधुरु रोए । प्रस्तुत दृश्यका पात्र थिए– दिलमाया रोका मगर (क. दीपा) र अरु धेरै जनकलाकार ।
संयोग मान्नु पर्छ । उक्त प्रस्तुतीतको ५–६ महिना अगाडि मात्र कमरेड दीपाका श्रीमानले सहादत प्राप्त गरेका थिए । उक्त प्रस्तुती रचियत थियो । तर, कलाकार दीपाको जीवन भोगाइसँग फरक थिए । जीवनसाथी गुमाउँदाको घाउ आलै थियो । तर, क्रान्ति प्रतिको सपना र भरोसा टुटेको थिएन । त्यसैले लाग्थ्यो– त्यो मञ्चन थिएन, कोही मनखोलेर वेदनाहरु पोखिरहेका थिए । अर्थात कमरेड दीपा आफ्नो वास्ताविक भोगाइ नेता र सहयोद्धालाई सुनाउँदै थिइन ।

शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि माओवादीले नेता कार्यकर्ता व्यवस्थापन गर्न नसक्नुको कारण हो यो । तर, पार्टीप्रति आशा र विश्वास राख्नेहरु त्यो समयदेखि यो समयसम्म पार्टीसँग टाढा भएका छैनन् । मध्येका एक हुन– कमरेड दीपा ।
खुला राजनीतिको कठिन यात्रामा पनि दीपा पार्टीभन्दा अलग भइनन्, माओवादी बाहेक अरु पार्टी वा विचारसँग सहमत हुन सकिनन् । जनयुद्ध जस्तै पार्टी जीवनमा सक्रिय त भएनन् तर पार्टीसँग अलग पनि भइनन् । अरु जस्तै निजी जीवन व्यवस्थापनमा उनको ध्यान गयो । दीपाले निम्न माध्यमिक तहको शैक्षिक यात्रा पूनःजागृत गरिन् ।

पार्टीमा उत्तार–चढाव चलिनैरह्यो । तर, दीपाको शैक्षिक यात्रा रोकिएन । उनले एसएलसी उत्तिर्ण गरिन्, र प्लस टु पनि । त्यसबीच कम्प्युटर कोर्स पनि गरिन् । उनी भन्छिन्– ‘शैक्षिक यात्रा पूरा गर्न यति कठोर भएर लागेँ कि जनयुद्धभन्दा कडा मिहेनत गर्नुपर्यो । फरक यति हो, उबेला कतिखेर मरिन्छ भन्ने टुंगो थिएन, आज त्यो त्रासमा संघर्ष गर्नु परेन ।’
शान्तिप्रक्रियापछि पार्टीमा विभिन्न उतार–चढाव आए । जुट्ने र फुट्ने प्रक्रिया चल्दै आयो । जनयुद्धका क्रममा पार्टीको अभिन्न अंगका रुपमा चलेको साँस्कृतिक क्षेत्र र त्यसमा आवद्ध पात्रहरु पनि त्यो दुःखद प्रकृयाभन्दा अलग रहन सकेनन् । धेरैले कलाकारिता र पार्टी जीवन त्यागेर साधारण जीवन सुरु गरे । कति पार्टीमै छन् । कति फरक पार्टीमा लागेका छन् त कति गन्तव्यहीन यात्रा तय गर्दा कता–कता अलमलमा परेका छन् ।
‘जनवादी अनुशासन र नीति नियममा चलेर आएका कारण कक्षामा गुरुले सिकाएको हरेक बिषयबस्तुलाई टिपोट गर्थे र ध्यान केन्द्रित गरेर दिमागमा सेट गर्थे, अध्ययनमा ठ्ूलो मद्दत भयो । जनयुद्धको सोही सिकाइले आज अध्ययनमा ध्यान केन्द्रित गर्न सहयो मिल्यो, सफलता प्राप्त भयो’, औपचारिक सिकाइबारे उनको अनुभव ।
पछिल्लो समय दीपा बागलुङको एक बोर्डिङ स्कुलमा शिक्षिकाको रुपमा काम गर्दै थिइन । ०७४ सालमा चुनावको लहर चल्यो । पार्टीले प्रदेशसभा सदस्यको उम्मेदवारका रुपमा उनलाई सिफारिस गर्ने कुरा गर्यो । जीवनको अर्को अध्याय सुरु गरिसकेकी दीपालाई अचानक आएको खबर सहज लागेन । सुरुमा अस्वीकार गरिन् ।

घर पुगेपछि अनपेक्षित प्रस्तावले दीपालाई निक्कै रन्थनायो । त्यो प्रस्तावले दीपालाई त्यो कठिन तर उर्जावान विगत पुर्यायो । अनि उनले अठोट गरिन्– ‘म चुप लागेर हराउनु हुन्न, समयको माग पनि छ, लाग्नुपर्छ ।’ त्यसपछि उनी उम्मेदवार बन्न तयार भइन् । त्यसक्रममा जिल्ला पार्टीका नेतृत्वले एकचोटी नेतृत्वसँग पनि भेट्नुपर्छ भनेर काठमाडौं ल्याए ।

उनलाई जनयुद्ध र शान्तिपूर्ण राजनीतिका पनि सुप्रिमो प्रचण्डसँग भेट्न काठमाडौं ल्याइएको थियो । आइपुगेको दिन भेट हुन सकेन । एक दिन पर्खनुपर्ने भयो । तर, दीपासँग एक दिन पर्खने समय पनि थिएन । किनकी, दीपा अब पार्टीको कार्यकर्ता मात्र थिइनन्, उनी त सयौं बालबालिकालाई उज्यालो भविष्य देखाउने अर्को मोर्चाको कमाण्डर भइसकेकी थिइन् । मन उतै थियो ।
नेता हुने सपना दूर भइसकेको थियो । शिक्षण नै उनको संसार बनिसकेको थियो । बालबच्चाहरुले ‘दीपा मिस’ भनेपछि हुरुक्कै हुन्थिन । बच्चाहरु दीपा मिसको प्रशंसा गर्थे, सुनेर अभिभावकले पनि दीपालाई माया गर्थे, सम्मान गर्थे । जनयुद्धमा जनताले गरेजस्तै विद्यार्थी र अभिभावकले गरेको मायाले दीपालाई अर्को संसारमा पुर्याइसकेको थियो । अचानक आएको प्रस्तावले विगत पुर्यायो, विगत सम्झेर ‘पार्टी राजनीतिमा पुनः सक्रिय भएर लाग्नुपर्छ’ भन्ने निचोडमा पुर्यायो, सुप्रिमो भेट्न काठमाडौं आइपुग्दा पनि दीपाको मन राजनीतिमै फर्कन पूर्ण तयार थिएन ।
प्रचण्ड राजनधानी बाहिर थिए । दीपाको भेट वर्षमान पुन ‘अन्नत’सँग मात्र भयो । अनन्तले ‘तपाईं जसरी पनि हुनुपर्छ । म अध्यक्षसँग कुरा गर्छु । फोन नम्बर छोड्नुस्’ भने ।
अनन्तसँगको भेटपछि दीपा जिल्ला फर्किन । विद्यार्थीसँग विद्यालयमा रम्दै थिइन । अचानक अपरिचित नम्बरबाट फोन आयो । ‘सन्चै हुनुहुन्छ ? मलाई चिन्नु भो ?’ सुरुमै फोन गर्नेले सोधे । त्यो आवाज अध्यक्ष प्रचण्डको थियो । प्रचण्डले ‘समानुपातिकबाट हाम्रो उम्मेदवार तपाईं नै हो । अब चुनाव प्रचारमा लाग्नुस्’ भने । अनि चुडिएको दीपाको राजनीतिक यात्रा पुनः जोडियो ।
उम्मेदवार बन्ने पक्का भएपछि दीपाको राजनीतिक यात्रा मात्र जोडिएन, जनयुद्धको क्रममा गरेको योगदानको सम्मान पनि भयो । तर, शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि अलमलमा पर्दा दुःखले जोडेको अध्यापन यात्रा बिचमै चुडियो । अब राजनीतिक यात्रा जस्तै दीपाको अध्यापन यात्रा जोडिएला या नजोडिएला उनैलाई पनि थाहा छैन ।

विदाइमा विद्यार्थी र विद्यालय परिवार भावुक बने । विद्यालय छोड्न दीपाको मन मानिरहेको थिएन, विद्यार्थी र विद्यालय परिवार पनि उनलाई छोड्न मानिरहेका थिएनन् । विदाइमा उनलाई भनियो– ‘तपाईंलाई जितको शुभकामना ! चुनाव हार्नुभयो र फेरि अध्यापन गर्छु भन्नुभयो भने ढोका सधै खुला हुनेछ ।’ बिर्सनै नसकिने माया र सम्मानलाई शिर चढाउँदै दीपा चुनावी अभियानमा निस्किन् ।
जनयुद्धको आधार क्षेत्र रुकुम–रोल्पा र अरु धेरै जिल्लाका गाउँबस्तीहरुसँग परिचित दीपा आफ्नै गृहजिल्ला बाग्लुङका धेरैजसो गाउँबस्तीसँग अपरिचित थिइन् । तर, ०७४ सालको चुनावी अभियानले उनलाई त्यहाँ पनि परिचित गरायो ।
चुनाव जितेर प्रदेशसभा सदस्य भइन् । तर, दीपाले उत्पादन, मिहेनत र सृजनशीलतालाई छाडिनन् । एउटा जनप्रतिनिधि फेरि विद्यालयमा पढाउन जान सम्भव थिएन । विकल्पमा उनले एउटा बंगुर फार्म स्थापना गरिन् ।
अहिले पनि उनी पोखरामै ‘ताराखोला अग्र्यानिक एग्रो एण्ड मल्टी प्रपोज प्रा.लि’ नामको फुड सेन्टर चलाइरहेकी छन् । जहाँ, बाग्लुङको ताराखोला, अर्गल, ढोरपाटनलगायत शिखर बस्तीहरुमा उत्पादन हुने आलु, सिमी, भटमास, मार्सी चामल, हल्दी, कोदो, मकै, गहुँ, जौ, फापर, गुद्रुक, अचार, सागसब्जी, चोयाबाट बनेका सरसामान लगायतका होलसेल तथा थोक बिक्री हुने गरेको छ ।
दीपा सुनाउँछिन्– ‘राजनीति समाज सेवा हो । पार्टी माध्यम हो । जीवन धान्न त वैकल्पिक पेसा अनिवार्य छ । आज म माननीय हुँ, दुई चार पैसा तलब भत्ता छ भनेर हल्लेर गफ गरेर बसियो भने भोलि कसरी ज्यान पाल्ने ? मेरो त ठूलो परिवार छ ।’
दीपाले आफ्नै सहयोद्धा अर्का जनवादी कलाकार क. विद्रोहीसँग विवाह गरेकी छन् । विद्रोहीसँगका एक छोरा र एक छोरी छन् भने शहीद भइसकेका श्रीमानसँगको एक छोरी छन् ।
केही दिनअघि माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ४८ जना केन्द्रीय सदस्य मनोनित गरेर थप गर्दा त्यसमा कमरेड दीपाको नाम पनि आयो । उनको नाम केन्द्रीय सदस्य मनोनित भएको खबर संचार माध्यम र सामाजिक संजालमा प्रचार भइरहेको थियो, दीपा भने बंगुरलाई दाना पकाउन व्यस्त थिइन ।
फोनमार्फत ‘सिसिएम बन्नु भएछ, बधाई छ’ भन्दा उनले हाँस्दै जवाफ दिइन्, ‘हजुर ! अरु कमरेडहरुले फोनमार्फत जानकारी दिनुभएपछि बल्ल थाहा पाएँ । म त यता बंगुर फार्म र पसलको काममा हैरान छु ।’
मैले भनेँ ‘तपाइँको राजनीतिक पद जहिल्यै फोनमार्फत नै सुनेर थाहा पाउनुपर्ने है माननीयज्यू ?’ उनी हासिन् । समानुपातिक उम्मेदवार सिफारिस भएको खबर पनि अध्यक्ष प्रचण्डले फोन गरेर नै जानकारी दिएका थिए ।
कमरेड दीपाको राजनीतिक जीवन र कथाव्यथाहरु बडो असाधारण त छँदैथियो । त्यसो त जनयुद्धमा होमिएका हरेक नेपालीको कथा करिब उस्तै छ । जुन आफैमा एउटा अभूतपूर्व इतिहास हो । तर, त्यसैमा थप दीपाले शान्तिप्रक्रियापछि साधारण जीवनको दौरानमा देखाएको निशस्त्र तर कडा संघर्षले अत्यधिक मेरो मन छोएको छ ।
जनयुद्ध भूल थिएन । पक्षपातपूर्ण राज्यव्यवस्था विरुद्ध लड्नु त्यो समयको माग थियो । दीपाहरुको पुस्ताले पूरा गर्नुपर्ने एक महान अभिभारा थियो, जो पूरा गरे । जनयुद्ध लडेकामा पश्चाताप गर्ने, पार्टी र क्रान्तिलाई सरापेर भौतारिने मनहरु थुप्रै भेटिन्छन् । पार्टी र नेतृत्वलाई खबरदार गर्नु र आलोचना गर्नु अहिलेको आवश्यकता हो । तर, परिवर्तनका लागि लडिएको इतिहासप्रति गौरवभाव राख्न नसक्नु दुःखद पाटो हो । उहाँहरुका लागि क. दिलमाया रोका मगर एक गतिलो उदाहरण हुन् । जो, संघर्षसँग निरन्तर सामिप्य छिन् ।











