Logo
Logo

युरोप भ्रमणको उपलब्धि के ?


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

प्रधानमन्त्री केपी शर्मा ओली तीन युरोपेली देश बेलायत, फ्रान्स र स्वीट्जरल्याण्डको नौ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमणप्रति प्रधानमन्त्री ओली स्वयंले परराष्ट्रकै तयारीबारे असन्तुष्टि व्यक्त गर्दै भनेका छन्– ‘भ्रमण केही नमिले जस्तो भयो । यस्तो विषयमा कूटनीतिक कर्मचारी चुक्नु हुँदैन ।’

 

मुलुकको कार्यकारी प्रमुख जब कुनै देशको भ्रमणमा निस्कन्छन्, त्यो भन्दा अघि कैयौं चरणमा एजेण्डाका विषयमा परराष्ट्र मन्त्रालयले ‘होमवर्क’ गर्नुपर्ने हुन्छ । हचुवाको भरमा गरिने विदेश भ्रमणले कुनै प्रतिफल दिँदैन भन्ने कुरा प्रधानमन्त्रीको हालैको फ्रान्स र बेलायतको भ्रमणले प्रष्ट पारेको छ । यसभन्दा अगाडि भियतनाम र कम्वोडियाको भ्रमण पनि सन्तोषजनक रहेन ।

यो युरोप भ्रमणमा परराष्ट्रले त्यस्तो कुनै गम्भीर तयारी गरेको पाइएन । भ्रमणको लागि मात्र भ्रमण भएजस्तो भयो । जस्तै २०२ वर्षअघि नै (सन् १८१६) नेपालले कूटनीतिक सम्बन्ध गाँसेको बेलायत भ्रमण गर्दा प्रधानमन्त्री ओलीले महारानी एलिजावेथसँग भेट गर्न नपाउनु नेपाली कूटनीति (परारष्ट्र मन्त्रालय)का लागि ठूलो झट्का हो । ओलीले राजपरिवारको पाँचौँ वरियताक्रममा रहेका राजकुमार हयारीसँग भेटेरै चित्त बुझाउनुप¥यो । यस्तै राजीनामा दिइसकेकी बेलायती प्रधानमन्त्री थेरेसा मेसँग प्रधानमन्त्री ओलीको भेटको कुनै औचित्यता छैन । सन् १९६० फेब्रुअरी र सन् १९८६ मा महारानी एलिजावेथ, प्रिन्स फिलिपकासाथ नेपालको दुई पटक राजकीय भ्रमणमा आएकी थिइन् । यस्तै सन् १९६० अक्टोबरमा राजा महेन्द्रले बेलायतको राजकीय भ्रमण गरेका थिए । यस्तो लामो र गहिरो नेपालको कूटनीतिक सम्बन्ध भएको बेलायतजस्तो मुलुकमा नेपालको प्रधानमन्त्री जाँदा जुन ओज र गाम्भीर्यता देखिनुपर्ने हो त्यो देखिएन ।

बेलायतसँगको कूटनीतिक सम्बन्ध हाम्रो कूटनीतिको बलियो खम्बा हो । सन् १९८६ मा महारानी एलिजावेथको राजकीय भ्रमणपश्चात बेलायतबाट कुनै उच्चस्तरीय भ्रमण नेपालमा हुन नसक्नु हाम्रो कूटनीतिक असफलता हो ।

त्यस्तै सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको फ्रान्ससँग हाम्रो निकै मित्रवत् सम्बन्ध छ । फ्रान्स विश्वकै शक्तिकेन्द्रमध्ये एक हो । फ्रान्स, ज्ञान, प्रविधि र संशाधनले सुसज्जित मुलुक हो । सन् १९६६ अक्टोबरमा फ्रान्सका राष्ट्रपति जनरल चाल्र्स दी गालको निम्तोमा राजा महेन्द्रले फ्रान्सको राजकीय भ्रमण गरेका थिए । यस्तै फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ मितेराले सन् १९८३ मे २ मा नेपालको राजकीय भ्रमण गरेका थिए । यस्तो बलियो कूटनीतिक सम्बन्ध भएको फ्रान्ससँग हाम्रो सम्बन्ध खस्कँदो अवस्थामा छ । फ्रान्सले विशालनगरमा भएको राजदूत निवास नै बेचिसकेको अवस्था छ भने लाजिम्पाटस्थित राजदूतावासका कर्मचारी घटाउँदै भिसा सेक्शनलाई दिल्ली सारिसकेको छ ।

यस्तोमा, प्रधानमन्त्री ओलीको फ्रान्स भ्रमणताका राष्ट्रपति इम्मानुअल मार्कोनसँग भेट नहुनुलाई संयोग मात्र मान्न सकिँदैन । फ्रान्समा राष्ट्रपति नै मुलुकको कार्यकारी प्रमुख हुन् । यस्तोमा प्रश्न उठ्छ, प्रधानमन्त्रीको नूर नै गिराउने गरी किन हतार हतारमा परराष्ट्र मन्त्रालयले फ्रान्स लग्यो ? प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणको उपलब्धिबारे कसरी संसद्मा जवाफ दिन्छन् ? नेपाली जनताले उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।

[email protected]

प्रतिक्रिया दिनुहोस्