Logo
Logo

कन्सलटेन्सीको बैंकखाता रोक्का


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौका विभिन्न करदाता कार्यालयले मनपरी शुल्क लिई बिद्यार्थी विदेश पठाउने शैक्षिक परामर्श केन्द्रहरुको बैंकखाता रोक्का गरेका छन् । पुतलीसडकमा रहेका अधिकांश एजुकेशन कन्सलटेन्सीहरुको बैंकखाता करदाता कार्यालय पुतलीसडकले रोक्का राखेको स्रोतले बतायो । स्रोतका अनुसार एबीसी माइग्रेसन, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस, मर्सी एजुकेशन, ल्याण्डमार्क एजुकेशन, कंगारु एजुकेशन फाउण्डेसन, अल्फा विटा एजुकेशन, काठमाडौं इन्फोसिस, वेब इन्टरनेशनलको बैंकखाता बन्द गरेको छ ।

सनराईज एजुकेशन, डल्फिन एजुकेशन र वेभ प्रमिश सर्भिसको पनि बैंकखाता रोक्का गरेको छ । करदाता कार्यालयले बन्द गरेको बैंक खाता खुलाउन अल्फाबिटाका द्वीराज शर्मा शिवाकोटी प्रधानमन्त्री कार्यालयका सहयोगीबाट भनसुन गरिरहेका छन् । द्वीराज शर्माले बालुवाटार निकट अनलाइनलाई अल्फाबिटाको विज्ञापन समेत दिएका छन् । पुतलीसडकमात्र होइन, बानेश्वरदेखि सबैतिरका एजुकेसन कन्सलटेन्सीहरुले करछली गरेको आशंकामा करदाता कार्यालयहरुले बैंकखाता रोक्का गरेका छन् । करदाता कार्यालयले एजुकेशन कन्सलटेन्सीहरुले अरबौं करछली गरेको आशंका गरेको छ ।

यिनै एजुकेशन कन्सलटेन्सीहरुले नर्सिङ अध्ययनका लागि अष्ट्रेलियन कलेज अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) पुगेका एक हजार भन्दा बढी विद्यार्थीको भविष्य अन्यौलमा पार्ने काम गरेका थिए । नेपालका विभिन्न कन्सलटेन्सीबाट एआईबीटी पुगेका विद्यार्थीहरुले केही महिनाअघि एक टेलिभिजनमार्फत् प्रत्यक्ष रुपमा आफूहरु समस्यामा परेको बताएपछि यो कुरा बाहिर आएको थियो । विद्यार्थीहरु विचल्लीमा परेको जानकारी पाएलगत्तै शिक्षा मन्त्रालयले एआईबीटीमा विद्यार्थी पठाउने कन्सलटेन्सीहरुलाई पत्र काटेको थियो । तर महिनौं बित्दा पनि चर्को शुल्क असुली गरी अष्टे«लियामा विद्यार्थी बिचल्ली पार्ने कन्सलटेन्सीलाई कारबाही भने केही पनि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्