
काठमाडौं । गएराति ट्याक्टरबाट खस्दा उदयपुरको गाइघाटका एक जनाको मृत्यु भएको छ । हाल ललितपुरको इमाडोल बस्दै आएका वर्ष १८ का प्रदीप कार्कीको मृत्यु भएको हो ।
उनी भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेका थिए । राति करिब साढे ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरका अनुसार बालुवा घोल्ने मिक्सर मेसिन बोकेको ट्याक्टरबाट एक्कासी सडकमा खस्दा उनी घाइते भएका थिए । समिट अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लैजाने क्रममा कार्कीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त थिमिका अनुसार ट्याक्टर चालक झापाको कन्काई नगरपालिका–५ निवासी वर्ष २७ का रोशन गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनी अहिले ललितपुरको इमाडोल बस्दै आएका छन् । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।












