Logo
Logo

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री


315
Shares

काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

उनले आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ’, उनले भने ।

प्रम देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको बताए । उनले भने, ‘त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु ।’

मुलुकमा तीन तहको सङ्घीय शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उनको धारणा थियो । प्रम देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाधाविक रहेको बताए ।

‘सीमित स्रोत–साधानका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ’, उनले भने ।

प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो–छरितो ढङ्गले बिना कुनै ‘मरमोलाहिजा’ सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्