
काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव सामान्य रहेको छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य ठाउँमा आंशिक बदली रहनेछ । त्यस्तै देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
यसैगरी राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।












