काठमाडों । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरु दोधारे कुरा गर्ने आरोप लगाएका छन् । कम्युनिष्टहरुको दोधारे आचरणकै कारण जनतामा गलत सन्देश गएको उनको भनाइ छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’ अन्तरगत आइतबार बुद्धनगरमा आयोजित कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरुले फैलाएको भ्रम चिर्न नागरिकलाई घरघरमा पुगेर बुझाउनुपर्ने समेत बताए ।
उनले भने, ‘कम्युनिस्ट पार्टीका दोधारे कुराले गलत सन्देश गएको छ । त्यस्ता गलत हल्लाको विषयमा नागरिकसामु गएर बुझाउनु पर्ने अवस्था आएको छ ।’ कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको उनको आरोप छ ।
नेता सिंहले एमसीसी सम्झौतालाई लक्षित गर्दै जुनसुकै छिमेकी मुलुकले दिने सहयोग देश र जनताको हितमा छ भने स्वीकार गर्न सकिने बताए ।












