
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आमसभाको तयारीमा जुटेको छ । वैशाख ३० गतेको स्थानीय तह चुनावलाई मध्यनजर गर्दै राप्रपाले आमसभाको तयारी गरेको हो ।
त्यसैको तयारीस्वरुप राप्रपा बागमती प्रदेश समितिले आउँदो चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्दैछ । पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उक्त सभालाई राप्रपाले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ ।
सभालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ । गठित समितिमा काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सहसंयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन् ।
समितिमा बागमती प्रदेशभित्रका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश मातहतका भ्रातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरुको समेत प्रतिनिधित्व छ । प्रवक्ता श्रेष्ठले सभालाई प्रभावकारी रुपमा आयोजना गर्न विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको बताउँदै उपाध्यक्षहरु ध्रुवबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको सहभागितामा हिजो मूल तयारी समितिको पहिलो बैठक सम्पन्न भएको जानकारी दिए । काठमाडौंमा गर्न लागिएको सभालाई भव्य बनाउन आवश्यक तयारी गर्ने उक्त बैठकले निर्णय गरेको राप्रपा स्रोतले जनाएको छ ।
गत मंसिरमा आयोजित महाधिवेशनबाट पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाले देशभर विभिन्न सभाहरु आयोजना गर्दै आएको छ । अध्यक्ष लिङ्देन सुनसरीको चक्रघट्टीमा आयोजना गरिएको पार्टीको सभालाई सम्बोधन गर्न आज सुनसरीतर्फ लागेका बताइएको छ ।












