Logo
Logo

भाटभटेनी मनि ट्रान्सफरको नयाँ शैली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालमा भाटभटेनी भन्ने वित्तिकै धेरैले भाटभटेनी सुपरमार्केटलाई सम्झन्छन् । सुपरमार्केटको ब्रान्ड बनेको भाटभटेनी अब रेमिटेन्सको समेत ब्रान्ड बन्ने भएको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालककै नेतृत्वमा भाटभटेनी मनि ट्रान्सफर सञ्चालनमा आएको छ । जसरी भाटभटेनी सर्वसाधरणको लोकप्रिय सपिङ गन्तब्य बनेको छ, रेमिटेन्समा पनि सोहीअनुसार काम गर्ने कम्पनीको योजना छ ।

करिब दुई महिनाअघिबाट कारोबार सुरु गरेको भाटभटेनीले अहिले आन्तरिक रेमिटेन्सको कारोबारमा केन्द्रीत भएको छ । भाटभटेनी सुपरमार्केट पुग्ने ग्राहकलाई लक्षित गरी सेवा केन्द्रीत गरिएको कम्पनीले जनाएको छ ।

४१ वर्ष बैंकिङ क्षेत्रमा काम गरेका राजन अमात्यले भाटभटेनी मनि ट्रान्सफरको प्रबन्ध निर्देशकका रुपमा व्यवस्थापनको नेतृत्व सम्हालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गर्दा १४ वर्ष रेमिटेन्स शाखाको प्रमुखका रुपमा समेत काम गरेकाले उनलाई यो क्षेत्रको बारेमा राम्रो ज्ञान छ । ‘ब्रान्डका कारण हामीलाई काम गर्न सजिलो छ,’ अमात्य भन्छन्, ‘भाटभटेनी सुपरमार्केटका ग्राहकहरुलाई अहिले हामी सेवामा जोड दिएका छौँ ।

कम्पनीले हाल भाटभटेनी सुपरमार्केटमा भुक्तानी केन्द्र स्थापना गरी नेपालभरि नै आफ्नो सेवा सुरु गरेको छ । भाटभटेनीका १३ शाखामा मनि ट्रान्सफरको भुक्तानी केन्द्र खोलिएको छ । भाटभटेनी बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने भएकाले त्यो अवधिमा रेमिटेन्सको कारोबार गर्न पाउँदछन् । बेलुका ढिलासम्म यसरी सुरक्षित तरिकाले कारोबार गर्न पाउने भएकाले आफूहरुप्रति सेवाग्राही आकर्षित हुने कम्पनीको अपेक्षा छ ।

बैंकहरु ४÷५ बजे नै बन्द हुने भएकाले भाटभटेनीले बेलुका ७ बजेसम्म पनि नगद लिएर सेवा प्राप्त गर्न सक्ने छन् । अर्काेतर्फ बिदाको दिनमा पनि भाटभटेनीस्थित रेमिटेन्सको काउन्टर खुला रहन्छ । यसका लागि कम्पनीले विभिन्न बैंकहरुसँग सम्झौता गरिसकेको छ । रेमिटेन्स र यस्तो डिपोजिटको सम्बन्धमा कम्पनीले थप बैंकहरुसँग सम्झौता गरिरहेको छ । बैंक एवं अन्य मनिट्रान्सफरहरु ५ बजे बन्द हुने भए पनि भाटभटेनी मनीट्रान्सफरले बेलुका ७ बजेसम्म सेवा दिने भएकाले ग्राहकहरुले थप सुविधा उपभोग गर्न पाउने भएका छन् ।

हालसम्म आठ वटा बैैंकसँग कम्पनीको सम्झौता भइसकेको छ । ४५ दिनको अवधिमा एक हजार ६ सय सवएजेन्ट बनाइसकेको छ । बिजुली, पानी, टेलिफोनदेखि स्कुलका फि समेत एकै ठाउँबाट तिर्ने सुविधा कम्पनीले दिने तयारी भइरहेको कम्पनीका कार्यकारी प्रबन्धक मुनालजंग कार्कीले बताए ।

कम्पनीले जापान र कोरियाबाट आफ्नो अन्तराष्ट्रिय रेमिटेन्स सेवा सुरु गर्न लागेको छ । मनिग्रामको भुक्तानी चाँडै भाटभटेनीको काउन्टरबाट प्राप्त गर्न सक्नेछन् । कम्पनीले आन्तरिक रेमिटेन्स र अन्य कारोबारमै अहिले जोड दिएको छ । ‘हामी क्यासलेस ट्रान्सफरमा जाने उदेश्यमा छौं,’ कार्की भन्छन्,‘भाटभटेनीबाटै पेमेन्टदेखि डिपोजिटका सेवामा हाम्रो अहिलेको प्राथमिकता छ ।’

यस्तो सेवा दिने भाटभटेनी मनि ट्रान्सफर पहिलो कम्पनी बनेको छ । भाटभटेनी सुपरमार्केटमा दैनिक एक लाख ग्राहक पुग्ने गरेका छन् । उपत्यका बाहिर समेत सुपरमार्केट विस्तार भइरहेको छ । यस्ता अवस्थामा देशभित्रको रेमिटेन्सको सहजरुपमा बेलुकासम्म कारोबार गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । विदेशबाट आउने पैसा लिन, कसैलाई भुक्तानी दिन, बैंकमा पैसा जम्मा गर्न तथा सपिङ एकै थलोबाट हुने भएकाले भाटभटेनी मनि ट्रान्सफरले छिट्टै सफलता पाउने सम्भावना देखिन्छ ।

रेमिटेन्स कारोबार व्यापक हुँदै गएपछि अझे हुन्डी कारोबार रोकिएको छैन । सर्वसाधरणमा ज्ञान नभएर पनि हुन्डी कारोबार नरोकिएकाले कुनै निकायसँग मिलेर हुन्डी कारोबार घटाउन भाटभटेनी सुपरमार्केटसमेतको संलग्नतामा सचेतनात्मक कार्यक्रम गर्ने योजनासमेत कम्पनीले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्