Logo
Logo

गुठी भनेको प्राचीन नेपाली कम्युन हो


- दृष्टि न्युज/संवाददाता


गुठीको अंग्रेजीमा अनुवाद पंचायतकालमा ट्रष्ट भनेर गर्ने चलन चल्यो । अहिले पनि गुठीलाई अंग्रेजीमा ट्रष्ट भनेर नै लेख्ने चलन चलिरहेकोछ । तर वास्तवमा गुठीको सही अनुवाद कम्युन हो । गुठीको इतिहास र चलनले यसको सही अनुवाद कम्युन हो भन्ने देखिन्छ, ट्रष्ट होइन ।

कम्युन शब्द लैटिन भाषाको कम्युनिश—communis वाट वनेको हो । यसले सामुहिक काम गर्ने संस्था भन्ने अर्थ दिन्छ । गुठीको इतिहास तथा विगत र वर्तमानमा यसले गरिआएको कामहरुलाई हेर्ने हो भने यो भनेको कार्लमाक्र्सले भनेको कम्युन संग मिल्दछ । गुठी भनेको पूजा आजा र जात्रा मनाउने संस्था मात्र होइन । यसले प्राचीन कालका हरेक कामहरु सामुहिक रुपमा गर्ने गर्दथ्यो । अहिलेपनि उपत्यकावासी नेवारहरुका गुठीले सांस्कृतिक कार्य लगायत समुदायको हितकालागि सबै काममा सहयोग गर्ने गर्दछ ।

प्राचीन नेपालमा सबै जग्गा जमीनमाथि सामुहिक स्वामित्व थियो । त्यो आदिम साम्यवादी समाज थियो । तेरो जमीन मेरो जमीन भन्ने थिएन । सबै मिलेर काम गर्थे सबै मिलेर जीवन यापन गर्दथे । समुदायका ठुला कामहरु गर्नकोलागी कार्यविभाजन गरेर विभिन्न गुठीहरु वनाइएका थिए । कुनै गुठीले कुलो वनाउने, सफा गर्ने, रेखदेख गर्ने गर्दथे । कुनै गुठीले वाटो, कुनै गुठीले जात्रा पर्व, कुनै गुठीले औषधालय आदिको वन्दोवस्त गर्दथे भन्ने कुरा विभिन्न शिलालेखहरुमा अझैपनि जिवीत प्रमाण रहेको छ ।

कालान्तरमा जमीनमाथि ब्यक्तिगत स्वामित्वको चलन आएपछि यस्ता गुठीका सदश्यहरुले गुठीको स्वामित्वमा केही न केही सामुहिक जमीन राख्ने काम निरन्तर चलिरह्यो । जनताका विविध कामहरु यस्ता गुठीहरुवाट नै चलिरहोस भनेर त्यो वेलाका राजाहरुले पनि जमीन गुठीका नाममा राखिदिने गरे ।

तर गणतन्त्रको सरकारले दुई तिहाइ शक्तिको अहंकार देखाएर गुठीको सम्पति गुठी प्राधिकरणलाई दिने र प्रदेश सरकार तथा केन्द्र सरकारले गुठी चलाउने कर्मचारीहरु नियुक्त गर्ने विधेयक वनाएर गम्भीर अपराध गर्ने कोशिस गरेको छ । विगतका सामन्ती लिच्छवी तथा मल्ल राजाहरु र गुठीयार(गुठीका सदश्य)हरुले गुठीको स्वामित्वमा राखिदिएको जमीनलाई गणतन्त्रका नवराजाहरुले खोस्न र मास्न खोजेपछि जनता विद्रोहमा उत्रनु स्वाभाविक हो ।

नेपालको प्राचीन कम्युन संस्था विरुद्ध कम्युनिष्ट भनिएको पार्टीका ठुला नेताहरु लाग्नु गद्दारीको पराकाष्ठा हो ।

यहाँका सोझा सीधा जनतालाई प्रतिक्रियावादीले उचालेको आरोप कतिपय सरकारी पण्डितहरुले लगाउन थालेको सुनिन्छ, यदि त्यसो हो भने यो विधेयक ल्याउनेहरु नै प्रतिक्रियावादी र जनविरोधी प्रमाणित हुन्छ । किनभने विधेयकमा गुठी जस्तो प्राचीन साम्यवादी संस्था, संस्कृति र सम्पतिमाथि सरकारले गिद्दे नजर लगाएको विधेयकका दफा २३, २४, ६४ आदिमा स्पष्ट देखिन्छ ।

गुठी विधेयक फिर्ता लिएको घोषणा गर्नु राम्रो हो । तर जनताले खवरदारी गर्न, आफ्ना भनाइ राख्न शक्ति प्रदर्शन र सभा गर्ने भएकाछन् । त्यसमाथि झुक्किएरपनि सरकारले दमन गर्ने अपराध नगरोस् । किनभने जनताको लोकतान्त्रिक अधिकार सधै सुरक्षीत छ । माइतिघर मण्डला प्रदर्शन गर्ने थलो होइन भन्ने कुतर्क सरकारले गर्नु ठिक होइन । खुल्ला मन्चमा माटो फोहोर गाडि थुपारेको जनताले होइन ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्