Logo
Logo

नासुका तीन वटा बंगला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । निजामती प्रशासनमा केही यस्ता कर्मचारी छन् जसको पद सानो भएपनि तिनीहरुको हैसियत निकै ठूलो हुने गर्दछ । ठूला हाकिमहरुको सरुवा गराउने हैसियत समेत उनीहरुले राख्दछन् ।

त्यस्तै कर्मचारीमध्ये एक हुन् नासु चन्द्रबहादुर श्रेष्ठ । दोस्रो पटक अख्तियारको हिरासतमा पुगेका श्रेष्ठको सिंहदरबारदेखि अदालतसम्म पहुँच छ ।

जग्गाधनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर बुढानीलकण्ठको ४० आना जग्गा बिक्री गरेको आरोपमा गत भदौमा उनी पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका केही कर्मचारी जेल चलान भए भने उनलाई भने अदालतले साधारण तारेखमा छाड्ने अनौठो आदेश दियो । जसलाई धेरैले आश्चर्यका साथ हेरे ।

साधारण तारेखमा छुटेपछि जागिर जोडिन्छ । तर, तत्कालै उनको जागिर जोडिएन । अख्तियारले हिरासतमा लिएर फेरि अनुसन्धान अघि बढायो । तर, अख्तियारमा पनि उनले चमत्कार गरे । आयोगले उनलाई मुद्दा नचलाउने निर्णय गर्दै तारेखमा छाडिदियो ।

बुढानीलकण्ठको जग्गा प्रकरणमा उनको प्रष्ट संलग्नता नभएको भन्दै छाड्ने निर्णय भएको थियो । उनको अकुत सम्पतिबारे आयोगका अधिकारीलाई थाहा थियो । तर, श्रेष्ठको ‘पावर’का कारण आयोगले छानबिन गरेन ।

त्यसपछि फेरि उनी जागिरमा फर्किए । भ्रष्टाचार मुद्दा लागेका कर्मचारीलाई जगेडामा राख्ने चलन छ । तर, श्रेष्ठ चाबहिल मालपोतमै हालिमुहाली जमाएर बसे । अदालतदेखि अख्तियारसम्म आफ्नो सेटिङ रहेको भन्दै उनको घुस असुली झन् बढ्यो ।

गत २३ जेठमा गोकर्णेश्वर–४ का सेवाग्राही आफ्नो जग्गाको मिसिलको प्रमाणित प्रतिलिपि लिन मालपोत पुग्दा दुई हजार नदिए मिसिल नखोज्ने चुनौती श्रेष्ठले दिए । हैरान भएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिए । घुस लिएलगत्तै कार्यालयबाटै पक्राउ परेका श्रेष्ठ यतिबेला फेरि आयोगको हिरासतमा पुगेका छन् ।

लामो समय मालपोतमा बसेका श्रेष्ठले अकुत सम्पति कमाइसकेका छन् । धापासीमा मात्र उनका तीन ठूला घर रहेको स्रोत बताउँछ । जागिर खाएपछि नै उनले ती सम्पति जोडेका थिए । तर, उनको अकुत सम्पति छानबिनमा आयोगले चासो दिएको छैन । न त प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्