काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पछिल्लो समय राजनीतिलाई कमाइखाने भाँडो बनाउनेहरूका कारण जनतामा निराशा छाएको बताएका छन् ।

शनिबार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत बानेश्वरमा आयोजित कार्यक्रममा नेता सिंहले राजनीति विशुद्ध समाजसेवा भएको पनि अहिले आएर कमाइखाने भाँडो जस्तै बनाइएको बताएका हुन् ।
उनले नेपालका कम्युनिस्टहरूको दोहोरो चरित्रका कारण देशमा अस्थिरता निम्तिएको समेत आरोप लगाए । नेता सिंहले कांग्रेसमात्रै स्पष्ट अडान भएको पार्टी भएको दाबी गरे ।
सत्ता र शक्तिमा रहेकाहरूले देशको हितलाई ध्यानमा राखेर काम गरे नागरिकको अपेक्षाअनुसार समृद्धि प्राप्त हुने उनको भनाइ छ ।
यस्तै, गठबन्धनको विरोध गर्नेहरूलाई कुन परिस्थितिमा गठबन्धन बन्यो भन्ने वास्तविकता नबिर्सन उनले आग्रह गरे । स्थानीय तहको निर्वाचनमा गठबन्धन के गर्ने भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकले कार्यकर्ता, कांग्रेसका शुभचिन्तकका सुझाव र मुलुकको आवश्यकतालाई ध्यान दिएर उपयुक्त निर्णय गर्ने उनको भनाइ छ ।











