Logo
Logo

चिनियाँ विदेशमन्त्री वाङले आज राष्ट्रपति र माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्दै


3.1k
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन् । उनी आजै दिउँसो बेइजिङ फर्किने कार्यक्रम छ ।

विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका समकक्षी नारायण खड्काको उपस्थितिमा हिजो दुई देशबीच हस्ताक्षर भएको हो ।

आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्क मुक्त कारोबारको विनिमय पत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मत सम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धि सम्बन्धी सातौँ बैठकको दस्ताबेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौँ र छैटौँ खेपमा ४० लाख सिनोभ्याक खोप) आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालमा चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।

यस्तै, चीन सरकारद्वारा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । हिजो बेलुका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्