काठमाडौं । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् ।
शुक्रबार साँझ पाँच बजे काठमाडौं आइपुगेका वाङ आइतबार दिउँसो स्वादेश फर्किएका हुन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल लगायतले बिदा गरेका थिए ।

नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो । शिष्टाचार भेट र छलफलसँगै उनले केही सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शनिबार नेपालका समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेट गर्दै औपचारिक भेटवार्तालाई निरन्तरता दिनुभएका वाङले आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।
नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । आइतबार बिहान शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका वाङले शनिबार साँझ प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए ।
वाङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भने आइतबार बिहान भेटवार्ता गरेका थिए ।
चिनियाँ विदेशमन्त्रीको तीन दिने भ्रमणलाई नेपालमा महत्वका साथ हेरिएको छ ।














