Logo
Logo

कलङ्की मालपोत नमुना कार्यालय घरमै बसेर पनि सेवा पाइने (के छन सुविधा ?)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , अषाढ ५ ।

घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा÷कोठा धाउनुपर्ने अवस्था अन्त्य हुने भएको छ ।

नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् । कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।

घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले भन्नुभयो, “सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालय आएर सेवा दिनसक्ने प्रणाली ल्याइएको छ । सेवाग्राहीले कम समयमा सेवा लिन सक्ने छन् ।

“सहायता कक्षबाट कागजात रुजु गरी टोकन दिइने छ । यसका आधारमा सेवाग्राही सम्बन्धित कोठामा जान सक्ने छन् । कार्यकक्ष पारदर्शी बनाइँदै ओपन अफिस सिस्टम लागू गर्ने प्रयत्न गरिएको छ । एकल सेवा बिन्दु अवलम्बन गरिएको छ ।

सेवाग्राहीले एउटै कोठाबाट सबै सेवा लिनसक्ने व्यवस्था मिलाइएको छ । कार्यालयमा रहेको प्रतीक्षालयमा सेवाग्राहीलाई आवश्यक सूचना दिन टेलिभिजनको समेत व्यवस्था गरिएको छ । ”
सरकारले अनलाइन सिस्टम लागू गर्दै पहिलो नमुना कार्यालयका रूपमा कलङ्कीबाट सेवा शुभारम्भ गरेपछि यो सेवा सुरु भएको हो । यो नमुना मालपोतको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका हुन ।

काठमाडौँको साँखु, पाँचथर र इलाम जिल्लामा यसै वर्षदेखि नमुना मालपोत कार्यालय सञ्चालन गर्ने सरकारको योजना छ । देशभरका २२ वटा मालपोत कार्यालयमा सीसीटीभी जडान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्