
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिएकी छन् ।
मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि आयोजित भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी ७ दिने तालिमको काठमाडौंमा समापन गर्दै उनले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताइन् । मन्त्री श्रेष्ठले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम्बन्धी कामहरुलाई प्रविधिमैत्री बनाउन लागिएको भन्दै सबै इमान्दार भएर लागे यसबाट काम पारदर्शी बन्दै जाने विश्वाससमेत व्यक्त गरिन् ।
भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, विभाग र कार्यालयहरुले जनजीविकासँग जोडिएर सार्वजनिक सेवा प्रवाह गर्ने हुँदा सार्वजनिक सेवा प्रवाहका क्रममा जनअधिकार, जनचाहना र जनताको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखेर सेवा प्रदान गर्न पनि उनले नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिइन् । मन्त्री श्रेष्ठले सेवा प्रवाह गरिरहँदा कसैको पनि दबाब र प्रभावबाट मुक्त भइ मितव्ययी, प्रभावकारी र जवाफदेही भएर कार्य गर्न समेत आग्रह गरिन् ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरमा नवनियुक्त शाखा अधिकृतहरुका लागि उक्त तालिमको आयोजना गरेको थियो ।












