Logo
Logo

एमालेले माग्यो प्रधानमन्त्री राहत कोषको हिसाबकिताब 


252
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद डा.पुष्पराज कँडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् । 

The current image has no alternative text. The file name is: yamale-1.jpg

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विपद् व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाएका हुन् । देशमा बारम्बार आइपर्ने विपत्ति र त्यसको व्यवस्थापनका लागि खडा गरिएका कोषहरूको सदुपयोगबारे सांसद कँडेलले चासो व्यक्त गरे । उनले कोषमा कति रकम जम्मा भएको छ र सो रकम कुन–कुन शीर्षकमा खर्च भयो भन्नेबारे संसद् अनभिज्ञ रहेको बताए । 

सांसद कँडेलकाअनुसार स्थानीय तह, प्रदेश सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसम्म कति रकम पुग्यो र त्यसको प्रभावकारिता कस्तो रह्यो भन्ने विवरण अहिलेसम्म संसद्लाई जानकारी गराइएको छैन । 

उनले भने , ‘विपत्तिमाथि विपत्ति आइरहेको सन्दर्भमा कोषहरूको यथार्थ विवरण सार्वजनिक नहुनु दुःखद् छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषको खर्चको स्पष्ट विवरण यो सम्मानित संसद्मा पेश हुनुपर्छ ।’

उनले सरकारले विपद्का समयमा संकलन गरेको रकमको पारदर्शी लेखाजोखा हुनुपर्नेमा जोड दिँदै यसले नागरिकको विश्वास बढाउने तर्क गरे । कँडेलको यो मागसँगै विपद् व्यवस्थापनका लागि सरकारले प्रयोग गर्ने वित्तीय स्रोतको वितरण प्रणालीमाथि थप बहस सुरु भएको छ । सरकारले अब यी कोषहरूको आय–व्यय विवरण कसरी संसद्मा प्रस्तुत गर्छ, त्यो प्रतीक्षाको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्