Logo
Logo

काम नगर्ने ठेकेदारमाथि खोइ कारवाही ?


- दृष्टि न्युज/संवाददाता


वर्तमान सरकार वनेको केही समय पछि काम नगर्ने ठेकेदारहरुमाथि कारवाही गर्ने भन्दै सरकारले जिल्ला जिल्लावाट सूची मागेको थियो । जनतामा केही हुनेभयो भन्ने आशा पलाएको थियो । तर ठेकेदार संग घुस र कमिशन लिने सरकारका ठुला नेताहरुले काम समय मै नगर्ने र गुणस्तरिय काम नगर्ने ठेकेदारहरुलाई कारवाही गर्ने नारा दिनु हावादारी गफ मात्रै थियो भन्ने आरोप अहिले आएर पुष्टि भएकोछ ।

सरकारको मुखपत्र गोरखापत्रले समेत असार ६ गतेको मुखपृष्ठमा कलंकी नागढुंगा सडक चार वर्षमापनि पूरा भएन भनेर मुख्य समाचार छापेको छ । केवल १० किलोमिटरको वाटो मरमत गर्ने काम ४ वर्षमा पनि नसकिनु भनेको ठेकेदारको हद दर्जाको वेइमानी हो । विज्ञहरु १० किलोमिटर वाटोको काम ६ महिनामा सकिने वताउँछन् र वढीमा १ वर्षमा जसरीपनि सकिने वताउँछन् । सरकारले विवाद भएका ठाउँमा साविक कै चौडाइमा र विवाद नभएका ठाउँमा पहिला भन्दा फराकिलो वाटो वनाउने भनि निर्णय गरिसकेको छ । तर अहिले सम्मपनि सो वाटो वनेको छैन ।

नागढुंगा कलंकी सडक भनेको उपत्यकाको लाइफ लाइन हो । तर यस्तो वाटोमा हद लापरवाही र वेइमानी भनेको अपराधीक काम हो । सरकार भने मूक दर्शक वनेको छ । यसको कारण अरु नभएर नेकपाका अध्यक्षको घरवेटी उक्त सडकको ठेकेदार भएर हो भन्ने आरोप लाग्दै आएको छ । यहाँ ब्यक्तिको सवाल नभएर पहँुचवाला ठेकेदारहरुले कसरी देश विकासको काममा ब्रेक लगाउँदै आएका छन् भन्ने हो र उनीहरुमाथि किन सरकारले कारवाही गर्ने हिम्मत गर्न नसकेको हो भन्ने विषय हो ।

उपत्यकाको प्रशिद्ध पर्यटकीय स्थल नगरकोट जाने वाटोको हालतपनि उस्तै छ । केवल १३ किलोमिटरको वाटो । ०७१ असार ४ गते ठेकेदार संग सम्झौता हुँदा केवल १२५ दिनमा काम सकाउने हस्ताक्षर भएको थियो । त्यो भनेको ४ महिना ५ दिन हो । तर दोब्बर समयमा पनि सकाएन ठेकेदारले । त्यसपछि भूकम्पको वहाना वन्यो । भूकम्प गएको पनि ४ वर्ष भैसक्यो । तरपनि सो वाटो वनेको छैन ।

स्थानियवासी जनताले केही समय अगाडि आन्दोलन गरेका थिए । तर त्यसको केही सुनुवाइ भएन । जेठ २० गते सो क्षेत्रको चाँगु नगरपालिकाका मेयर सोम मिश्रजीले संसदलाई गुहार्दै ज्ञापन बुझाउनु भएको छ । तर केही प्रगति भएको छैन ।

प्रधानमन्त्रीज्यु स्वयम्ले यस्ता राष्ट्रिय महत्वका आयोजनामा कडाइकासाथ कामचोर भ्रष्टरुलाई कारवाही गर्ने हिम्मत गर्नु भएन भने अब हुने विभिन्न तहको सरकारको चुनावमा नेकपाले नराम्रो पराजय भोग्ने निश्चित छ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्