Logo
Logo

दलालहरुको कर्मकाण्डले ऐठन पारेको देश



राजनीतिक वृत्तमा यतिखेर अश्लील बफादारिता बडो बिचित्रसँग मौलाएको छ । मालिकहरुको सुसार कसले बढी गर्न सक्ने ? सेवा ढोगमा कसले बाजी मार्ने ? मालिकको प्यारो बन्न को बढी भुइँमा लतारिने ? कसले धेरै चाकडी गरेर प्रभु रिझाउने ? भन्ने होडबाजीमा यो कुरुप बफादारिताको जुलुस निर्लज्ज अघि बढिरहेको छ ।

यतिसम्मकि एक–अर्काको समर्थन देखाउने जोशमा यो जमात आ–आफ्नै टाउको फोराफोर गर्नसमेत पछि पर्दैन । यो हुलभित्र परिआएको खण्डमा एकले अर्कालाई सिध्याउन पनि कुनै हिचकिचाहट छैन । उतिखेरै चाटाचाट र उतिबेलै काटाकाटको स्थितिलाई पनि यो लस्करले बफादारीका साथ सहजै कार्यन्वयन गर्न सक्छ । किनकि, मालिक रिझाउनु जो अजंगको जिम्मेवारी काँधमा छ ।

यिनीहरु दासत्वलाई स्वतन्त्रता नामको उपमाले सिंगारेर बेलाबखत आफूलाई स्वतन्त्र नागरिक भन्न पनि रुचाउँछन् । बरु छेपारोले यति छिटो रङ फेर्न सक्दैन होला, त्यति चाँडो यो भजनमण्डलीले आफ्नो स्वरुपको लय बदलिरहेको हुन्छ ।

अचेल झन् निर्वाचनको मातले यो फौजका खुट्टा ठाउँमा छैनन् । उस्तै परे– एकै दिन चारवटा पार्टीको अबिर दलेर बेलुका घर पुग्छन् । यो करेला जत्रो हाम्रो मुलुकमा मतदाताभन्दा नेता नामधारी दलालहरु धेरै हुनुको परिणाम पनि हो ।

जुनसुकै चोकमा जोगिएरै हिँडे पनि उनै नेता भनौंदासँग कुम ठोकिन्छ । उनैका राजनीतिक बहस र प्रष्टीकरणहरुमा हामीले ताली बजाउनुपर्छ । मुखैले मात्रै भए पनि समर्थन गरिदिएझैँ स्वाङ रच्नुपर्छ ।

यहाँ हामीले खाने प्रत्येक गाँस र हरेकपल्ट फेर्ने श्वासमा समेत दलाली हुन्छ । अस्पतालका शैयाहरु प्राणको मोलमोलाइ गर्ने ब्यापारिक थलोजस्तै बनेका छन् । विद्यालयहरु शैक्षिक माफियाको कब्जामा थला परेका छन् ।

जिजुबाजेको पालादेखि विकास र निकासका थोत्रा भाषण सुन्न थालेको हाम्रो पुस्ता अझैसम्म त्यही आशायुक्त थुक निल्दै बस्नुपर्ने बाध्यता छ । सयौं मिटरभित्र पर्ने सामान्य वडाध्यक्षको बलेनीसम्म कालोपत्रे गर्न बजेट प्रशस्त छ ।

यद्यपि, पूर्वपश्चिम राजमार्ग ‘मृत्यु मार्ग’मा परिणत भएर अनाहकमा सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ । त्यसलाई सधैँजसो मजाक बनाउने काम भएको छ । सार्वजनिक सवारीसाधनमा पाइला टेक्दा दशपल्ट सोच्नुपर्ने बाध्यता छ ।

दशकौं पहिले निर्माण भएको पूर्वपश्चिम राजमार्ग अति नै जीर्ण बनिसकेको छ । ठाउँठाउँमा धराप थापिएको झैँ गहिरा खाडलहरुले सयौं दुर्घटना निम्त्याइसकेको छ । यी सडकहरु मर्मतको नाममा वर्षेनी अर्बौं भ्रष्टाचार हुन्छ ।

जति जनप्रतिनिधि र प्रशासकहरु फेरिन्छन् उतिपल्ट मर्मतको नाममा यी खाडलहरुमा टालो हालिन्छ । महिना दिन नबित्दै अवस्था झनै दयनीय बन्छ । कमिशनको चक्करमा मनलाग्दी खोलिने टेन्डरबाट नेताहरूले भकारी भर्छन् । महिनैपिच्छे फेरिने ठेकेदारहरु रातारात मालामाल बन्छन् । तर चुनावको मुखमा नेताहरुको थेगो बनेको विकासको कथा न ‘खिरपाक ताउली’ बन्न सक्छ, न त ‘सुनबडकौंली बाख्रो ।’

हरेक वर्ष कृषकहरुलाई भनी राज्यले करोडौं रकम अनुदान छुट्याउँछ । तर असली कृषकहरुले त्यसको गन्धसमेत पत्तो पाउँदैनन् । दैनिक एघार–बाह्र घन्टा पसिनाले माटो सिञ्चिने सोझा किसानहरु सिजनमा मल नपाएर मर्माहत बन्छन् । ऋणधन गरी उब्जिएको उत्पादनले बजार नपाएर खिन्न हुन्छन् । तर कृषि फार्मको लाइसेन्स झोलामा बोकेर नेताको दलाली गर्ने बिचौलियाले वर्षमा एक दिन माटोमा पाऊ नराखेरै पनि लाखौं अनुदान कुम्ल्याउँछ । उत्कृष्ट कृषकको टीका उही बिचौलिया–दलालको निधारमा लाग्छ ।

यो विषय आखिर मानोको नेतागिरी गर्ने दलालहरुले विभिन्न बहाना कसका लागि काम गर्छन् त ? भन्ने कुराको सामान्य दृष्टान्त हो । स्मरण रहोस्– आफ्ना नीहित स्वार्थका खातिर कृत्रिम सौन्दर्यको बर्को ओढेर गाँठो परेको राष्ट्रियता खोक्ने दलालहरु माटोको लागि जहिल्यै भारी परेका छन् ।

राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गर्नु देश अनि जनताको लागि अति खतरनाक स्थिति हो । जो नेपालमा सजिलै गरिन्छ । विदेशी राष्ट्रहरुसँग देशको गरिबी बेचेर अर्बौं रकम हत्याउने अनि आफ्नै भकारी भर्ने थिति रहेसम्म देशले अथाह पीडा भोगिरहनुपर्ने छ ।

राजनीतिको नाममा विदेशी प्रभुहरु रिझाउन ज्यान फाल्ने बेथितिले माटोको लागि किमार्थ भलो चिताउन सक्दैन । चुसेर हुन्छ कि चिमुटेर ? देशलाई जहिल्यै आक्रान्त पार्ने र धमिलो पानीमा माछा मारेर आन्द्रा सुन्निने गरी आफैँ खाने परिपाटी मस्तै मौलाएको छ ।

देशविरुद्ध विदेशीको कलो खाएर उसकै सुसारमा निर्लिप्त दलालहरु आफ्नै मातृभुमिविरुद्ध उभिनु नै आफ्नो जिम्मेवारी ठान्छन् । यता उनैको जयजयकारमा लागेको अर्को पुस्ता पनि छ, जसले भोलिका दिनमा यही जिम्मेवारी परिपूर्ति गर्ने हो ।

प्रमुख दलालहरुको भेंडीगोठमा थुनिएका ती भेडाहरु पनि बडो अचम्मका छन् । जो एउटै मुद्दामा न लजाएरै कहिले जिन्दावाद र कहिले मुर्दावादको बुर्कुसी मार्छन् ।

फगत नेता र दलगत स्वार्थकै वरिपरि फन्को मारिरहेको देशको राजनीतिक परिवेशले निश्चित व्यक्तिहरु मनग्ये लाभान्वित भएका छन् । उनीहरुको लागि आउनुपर्ने सबै व्यवस्था आइसकेको छ । परन्तु देशमा समस्या अनन्त छन् । यस्को मुलभूत कारण देशप्रति सत्ताको गैरजिम्मेवारीपना नै हो ।

सत्ता रुपान्तरण कठिन कार्य हो । हामीले देखेका प्रचण्ड, देउवा, माधवहरु सत्ता होइनन् । सत्ता त खतरनाक मनोविज्ञान हो । यी राजनीतिक पात्र हुन् । आउँछन्– जान्छन् । मुलतः यिनीहरुलाई सत्तामा पुर्याउन भर्याङका रुपमा तेर्सिने हामी जनताको चेतमा पनि यथाशीघ्र परिवर्तन ल्याउन जरुरी छ ।

कुरुप भलद्मीहरुको सस्तो मजाकले देशलाई पटकपटक मुर्छित हुने गरी ऐठन पारेको त हामीले देखिनै रहेका छौँ । पटकपटक नेतागिरीको बाँध फुट्दा आउने धोकाको बाढीले देशका तमाम सपनाहरु बगाएको छ । कयौं वर्षदेखि हुँदै आएको राजनीति तर चुनाव आउँदामात्रै रोजगारीको बाटो, त्यो पनि तीन महिने सुत्केरीले डेढ महिने म्यादी प्रहरीमा काम गर्नुपर्ने स्थितिसम्म आइपुग्यो ।

यहाँ भोट दिनेमध्ये केही मान्छेहरु एक महिना र भोट पाउनेहरु जीवनभर मालामाल हुने खेलले अझै कस्तो स्थिति ल्याउने हो ? भविष्यमा अवश्य देखिएला । एकदिन निर्वाचनमा गरिएको फैसलाले वर्षौँसम्म राज्यसत्ताको तप्केनीमा ओइलाएर बस्ने गल्ती अब कुनै नेपालीले नगरौं । अझै पनि उनै दलालहरुकै तमसुकमा ल्याप्चे हान्यौँ भने– हामीले कुन तन्त्रको कुन झ्यालमा बसेर देश, भविष्य र सुखानुभूतिको उज्यालो हेर्नु ?
– लमही दाङ

प्रतिक्रिया दिनुहोस्