Logo
Logo

मलेसियामा नयाँ राजा यही महिना चयन हुने



क्वालालम्पुर, २३ पुस (रासस÷एएफपी) ः मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । 
नयाँ राजा चयनसँगै उहाँको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन् । 


मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ । 
पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पुरा नहँुदै आईतबारदेखि लागु हुनेगरी राजगद्दी त्यागेको घोषणा गर्नु भएपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो । 
रूसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उहाँले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ । 
मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिनुभएको थियो । 
राजा सुल्तानले दुई बर्ष अगाडी राजगद्दी सम्हाल्नु भएको थियो । राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन । 
राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ ।” 
नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन् । नयाँ चयन भएका राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाई छ । 
नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने छ । समारोहमा उहाँलाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने छन् भने मुस्लीम पुजारी र हजारौ अतिथिहरू परम्परागत पोशाकमा सहभागी हुनेछन् । 
मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ । उनीहरु विषेशगरी मुस्लीम मलाय समुदायबाट चयन हुन्छन् । 
मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ । 

प्रतिक्रिया दिनुहोस्