Logo
Logo

ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले भरिला बने : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बनेको बताएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अस्वस्थ चिन्तनबाट बच्न योग गरौँ, कर्म र योग दुवै गरौँ, ध्यानले असहिष्णुताबाट जोगाउँछ, ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बने, आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकाले यसको अभ्यास जरुरी छ ।’
वाल्मीकि, विश्वामित्र, वशिष्ठ, व्यासजस्ता ऋषिमुनिले नेपालभूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित भएको उनले बताए । केही स्थानमा त्रेतायुगका योगस्थ अवस्थाका मुद्रा भेटिएकाले योगको प्राचीनतालाई प्रमाणित गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कार्यक्रममा शिक्षामन्त्री एवं अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिका संयोजक गिरिराजमणि पोखरेलले विद्यालय तहको पाठ्यक्रममा योगलाई समेटेर जाने गृहकार्य भइरहेको जानकारी दिएका थिए । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान पूरा गर्न पनि योग र ध्यानलाई प्रवद्र्धन गर्न लागिएको मन्त्री पोखरेलको भनाइ थियो । मन्त्रालयका सचिव खगराज बरालले विद्यार्थीका माध्यमबाट घरघरमा योगाभ्यासको संस्कृति पुनस्थापना गर्न विद्यालय तहदेखि योग शिक्षा अघि बढाउन लागिएको बताए ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पूर्वीय दर्शनको एउटा अंग योगको विकासका लागि नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महीनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्