Logo
Logo

एउटा चूकजस्तो अँध्यारो रातलाई चिर्दै



भर्खर औँशीपछिको रात भएकाले जुनको उज्यालोसम्म पनि थिएन । मनमा भने आशाको बत्ती थियो । मजदुर मित्रहरुको मात्र होइन, मजदुरलाई साथ दिने सुन्दर मनका अरु साथी र उनका परिवारको समेत ठूलो भूमिका रह्यो– त्यो छैटौँ विद्यार्थी सम्मेलनलाई सुरक्षितै सफल पार्नमा ।

विद्यार्थी प्रतिनिधिहरु जम्मा हुन थाले बालाजु नजिकको त्यो बस्तीमा । मजदुर मित्रहरुकै दुईतले घर र आँगनसमेत भरिन थाल्यो । कतिलाई त्यहाँ पुर्याउनै पनि सकिएन, ठाउँको सीमितता र अवस्थाले गर्दा– बाहिरबाट सम्मेलनको निम्ति आउने विद्यार्थीहरुलाई कालिमाटी, कीर्तिपुर, पांगा र अन्य ठाउँहरुमा समेत विभाजित गरेर अनेक कार्यक्रम गरेर राख्नुपर्यो ।

यसो गर्दा बाहिरबाट आएका विद्यार्थीहरुलाई निरुत्साहित हुन नदिई सार्थक गतिविधिमा व्यस्त राख्ने काम भयो भने अर्कातिर प्रशासनलाई झुक्याउने काम पनि भयो ।

बालाजुको माथिको त्यो मजदुर बस्तीमा भने केन्द्रीयस्तर र जिल्लाबाट आएका विशेष प्रतिनिधिलाई मात्र विशेष सुरक्षाका साथ जम्मा गरिएको थियो ।

अँध्यारो रातमा बाटाहरु पनि फरक–फरक पारी कोहीलाई विष्णुमतीको तिरैतिर त कतिलाई मूलबाटोबाट त्यो सम्मेलन स्थलमा पुर्याइएको थियो ।

सुरक्षाकर्मीका रुपमा संगठित मजदुर मित्रहरुको ठूलो सहयोग थियो । केही विद्यार्थी नेता र प्रतिनिधिहरुलाई एकपटकमा ल्याउने, फेरि अरुलाई लिन जाने– यसरी ओहरदोहर गर्नु, पहरा बस्नुजस्ता कठिन काममा उहाँहरू नै जुट्नुपरेको थियो । त्यो दिन भन्नु यस्तै चैतको २४ गतेको कुरा थियो ।

एक रातमै सबै काम सम्पन्न गर्नुपर्ने चुनौती थियो । अर्को बिहानसम्म तन्काउन मिल्ने अवस्था नै थिएन । म नजिकको अर्को मजदुर साथीको घरमा बसेर बेलाबेलामा एक्लै ओहरदोहर गर्दै एउटा अघोषित पहरेदारको काम गरिरहेँ ।

लामो समय विद्यार्थी जीवनबाट टाढिएर नेकपा मालेमा आउनु अगाडि नै अर्को अतिगोप्य संगठनको नीतिअनुसार ‘बुर्जुवा शिक्षाको विरोध’ गर्ने नाममा कलेजको पढाइ छोडेर राजनीतिक जिम्मेवारी बोक्न थालेका थियौँ ।

केही साथीहरुले भने यतिबेला राजनीतिक कामलाई अगाडि बढाउने हतारोमा म आफूले पढाइरहेको स्कूलबाट पनि राजीनामा दिएर मजदुरको आवरणमा बालाजुमा काम गर्न थालेकी थिएँ । त्यहाँबाट पनि प्रशासनले लखेटेपछि बाहिरबाटै मजदुर संगठनको काममा थिएँ ।

यतिबेलाको जिम्मेवारी जसरी भए पनि विद्यार्थीको त्यो सम्मेलन सम्पन्न गराउने मात्र मेरो नैतिक जिम्मेवारी थियो । बेलुकी ८ बजेतिर सुरु भएको कार्यक्रम बिहान झिसमिसे हुँदा नहुँदासम्ममा सिध्याउनुपर्ने नै थियो । कति विद्यार्थी नेताहरुलाई त चिन्नसम्म पनि चिन्दिन थिएँ । विद्यार्थीहरुले पनि मलाई चिन्नुपर्ने कुनै आवश्यकता थिएन । त्यसबेलाको भूमिगत शैलीमा नचिनिनु पनि ठूलो कौशल थियो, धर्म थियो ।

नेकपा मालेमा सामेल भएको पनि धेरै भएको थिएन– जम्मा दुई वर्ष भएको थियो । तर त्यो बेलाको दुई वर्ष भन्नु दुईटा युगजस्तो लाग्थ्यो– आफूमा आएको परिवर्तन र देशमा भित्रभित्र आइरहेको परिवर्तनका कारण ।

मजदुर विद्यार्थीको त्यो ऐक्यबद्धताले गर्दा त सबै कार्यकर्ताहरुमा झनै उत्साह थपिदिएको थियो । प्रायः युवावस्थामा रहेका ती इमान्दार कार्यकर्ताको भूमिका र सक्रियतामा अहिले कल्पनै गर्न नसकिने पवित्रता थियो । नेताहरु नै पनि अहिलेजस्तो लोभी, दम्भी, पाखण्डी भइसकेका थिएनन् ।

त्यसबेला त यिनै नेताहरु पनि संघर्षका हुण्डरीमा साहस, त्याग, इमान्दारी र पवित्रता बोकेरै अघि बढेका थिए । त्यो बेलाको इतिहासलाई नै सम्झेर केही इमान्दार साथीहरुसँग कुराकानी गर्ने मौका बेला–बेलामा अहिले पनि पाउँछु । युवाकालदेखि नै सपना बोकेर संघर्षमा लागेका ती सफा मन भएका साथीसँग कुरा गर्दा मात्रै पनि भिन्दै आनन्द हुन्छ ।

त्यसबेलाका धेरै साथी सत्यको पक्षमा अडिग देखिनुहुन्छ– ऊ बेला देख्न नसकेका सत्यका विभिन्न पाटा त उमेर र अनुभवले देखाउँदै लाने रहेछन् । पुराना कुरालाई अहिलेको पाको उमेर र अनुभवले खारेको दृष्टिले हेर्दा त्यसबेलाको भावनाको पवित्रतामा गर्व गर्नुको साथै त्यसबेला आफ्नो ठानेको संगठनले अहिले आएर धेरै कुरामा बाटो बिराएको देख्नु पर्दा साथीहरु भावुक बन्नुहुन्छ ।

आफ्नो सुरक्षा र भविष्यको समेत वास्ता नराखी साथीहरुले समय र शक्ति खन्याएका थिए । विद्यार्थीकालमै पनि ठूलै त्याग र तपस्या गरिसकेका थिए । यही एउटा सम्मेलन सफल पार्नुमा पनि विद्यार्थीको मात्र होइन, अन्य मोर्चामा रहेका धेरै जुझारु कार्यकर्ताहरुको महत्वपूर्ण भूमिका रह्यो ।

बालाजु वरिपरि घर भएको नाताले कमला श्रेष्ठ र सुभद्रा कोइरालाजस्ता साथीले त्यो बेला मजदुरहरु बीचको कामसँगै विद्यार्थीको यो सम्मेलन सफल पार्ने काममा रातदिन नभनी खट्नुपरेको कुरा अहिलेका नेताले नसम्झिए पनि म बिर्सन सक्दिनँ ।

उहाँहरुकै जस्ता निस्वार्थ योगदानका कथा धेरैको छ । लिखित इतिहासमा त वास्तविकता कति पो अटाउला र, तर गहिरिएर हेर्ने हो भने जे जति सकारात्मक परिवर्तन हुनसकेका छन्, ती सबैमा त्यसबेलाका ती निश्चल, सफा मन मुस्कुराइरहेको देख्न सकिन्छ ।

आँखामा राखे पनि नबिझाउने जस्ता लाग्ने त्यसबेलाका प्रिय नेताहरु अहिले सबै सपना, संकल्पलाई चटक्कै बिर्सेर सत्तामोहमा डुबेको देख्दा तीनै पवित्र मन रोइरहेको पनि देख्न सकिन्छ ।

हरेक पुस्ताले देख्ने सपनाहरू फरक हुन्छन् । अहिलेका युवाले पनि हाम्रो पुस्ता युवाकालमा हुँदाकै जस्तो सपना देख्नु पर्छ भन्ने छैन । उनिहरुले देख्ने सपना त अर्कै, अझ उन्नत, अझै अग्रगामी हुनै पर्छ । तर पवित्रता, इमानदारी, जगतको कल्याणका निम्ति योगदान गर्ने चाहना त सर्वकालिक मानवीय सद्गुण हो ।

परिवर्तनका निम्ति अहिलेका युवा पुस्ताको चाहना र प्रयत्नमा पनि ती सद्गुण लुकेकै होलान् । हाम्रो पुस्ताका बुढा हुँदै गएका आँखाले अहिलेका ती परिवर्तनकामी युवाहरुका गतिविधिमा तीनै सद्गुण खोजिरहेका छन् ।

आजकाल केही युवा विद्यार्थी हुँदादेखि नै सत्तामोहमा पर्न थालेको, विद्यार्थी राजनीतिदेखि नै पैसाको खेलमा डुबेको, ख्यातिमोह र ख्यातिपूजामा लट्ठिएको आदि इत्यादि जे देख्न सुन्न परेको छ, त्यो केवल क्षणिक बादल हो र त्यसलाई छेडेर जनता, देश र जगतप्रति नै प्रेम र उत्तरदायित्वबोधको प्रकाश नयाँ पुस्तामा छाउनेछ भन्ने विश्वासमा हाम्रो पुस्ता पर्खेर बसेको छ ।

अहंकार, सत्तामोह, धनलोलुपता आदिको कुबाटोमा लागिसकेका पुराना पुस्ताका नेताहरू पनि सुबाटोमा फर्कुन् भनी कामनासम्म त गर्न सक्छौँ । तर नयाँ पुस्ताले त राजनीतिमा लागेर वा राजनीतिबाहिरै रहेर पनि युगले खोजेको सत्कर्म गर्न सकुन् भन्ने अपेक्षा नराखी कसरी बाँच्न सकिन्छ र !
सबको मंगल होस् !

प्रतिक्रिया दिनुहोस्