Logo
Logo

तुइनचालक शुक्रबहादुर चेपाङले पाए नयाँ घर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । चर्चित हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुइनचालक शुक्रबहादुर चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदीस्थित त्रिशूली नदी किनारमा विगत २० वर्षदेखि उनले तुइन तान्दै आइरहेका थिए ।

आइतबार एक कार्यक्रमका बीच हास्यकलाकार जिग्री पाँडेसहित मधुसुदन पाठक ‘सिते बा’,  काठमाडौँ कोटेश्वर सिटी टावरस्थित म्याक्स फेसन वेयरका सञ्चालक एवं समाजसेवी हरिप्रसाद काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितिमा धादिङ रोराङ गाउँपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो । सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो । आजभन्दा ६ महिनाअघि उनले तुइन चलाउने बाजेको फिल्मी कुरा टिभीमा भिडियो रिपोर्टिङ गरेका थिए ।

चर्चित हास्यकलाकार जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो । अबदेखि त्रिशूली नदी किनारमा सुत्नुपर्ने दिन गए । तपाईंले घर र आफूलाई सधैँ सफा सुग्गर राख्नुहोला । छिमेकी दाजुभाइले शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिनुहोला ।’

यता जिग्रीले एउटा पुण्यको काममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताए । शुक्रबहादुरले २० वर्षदेखि तुइन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाइ थियो । उनले सञ्चारकर्मी श्यामहरिलाई आगामी दिनमा पत्रकारितासँगै सामाजिककार्यलाई पनि निरन्तरता दिन आग्रह गरे ।

उता शुक्रबहादुरले काठमाडौंदेखि कलाकार आएर घर हस्तान्तरण गरिदिँदा मनमा निकै खुसी लागेको बताए । उनले भने, ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाएँ, घर पनि पाएँ । म तुइन तान्दिनँ ।’ हाल उनीसँग एक छोरा बस्छन् । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनका लागि उनले त्रिशूली नदीमा तुइन चलाउँदै आएका थिए ।

घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाइ, अष्ट्रिया रहनुहुने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्