Logo
Logo

डिप्ली माया गर्ने आएका छैनन् : सनम पयाँगू, मोडल


- दृष्टि न्युज/संवाददाता


आफ्नो कला, संस्कृति कसलाई प्यारो नलाग्ला र ? यस्तै, मोडल तथा अभिनेत्री सनम पयाँगू लिम्बू पनि आफ्नो कला र संस्कृतिका लागि ग्ल्यामरस क्षेत्रमा सक्रिय छिन् । ‘पहिलो कल्चरल अनि मोर्डन’ सनम भन्छिन्, ‘हेर्दा मोर्डन भएपनि म आफ्नो कला, संस्कृतिप्रति नतमस्तक छु ।’ ‘मिस लिम्बू–२०१७’ मा पार्टिसिपेन्ट भएपछि मोडलिङप्रति इच्छा जगाएकी सनम म्युजिक भिडियो र फिल्मी अभिनयमा जोडिँदै आएकी छन् । तेह्रथुम, पोक्लबाङकी २४ वर्षीया सनमले लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’, लघुफिल्म ‘विदेशीको स्वास्नी’लगायत विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन् । लिम्बू संस्कृतिमा आधारित फिल्मबाटै डेब्यु गरेकी सनम ¥याम्प मोडलिङमा पनि रुचि राख्छिन् । ५ फिट तीन इन्च उचाइकी सनम भन्छिन्, ‘भनेजस्तो फिल्ममा प्रस्ताव आए काम गर्छु ।’ यिनै ग्ल्यामरस क्षेत्रमा संघर्षरत सनमसँग एमपी सुब्बाको जम्काभेट :

कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?

सुरुमा कलाकारितामा लाग्छु भन्ने सोचेकै थिएन । रुचि र रहर पनि थिएन । तर, ‘मिस लिम्बू’मा सहभागी भएपछि रुचि जाग्न थाल्यो । म सानैदेखि आफ्नो कला, संस्कृतिप्रति रुचि राख्थेँ । र, आफ्नो इच्छाअनुसार फिल्म ‘केःसाङ्ला’मा काम गर्ने अवसर पाएँ । यदि मिस लिम्बूमा सहभागी नभएको भए सायद यो क्षेत्रमा हुने थिइनँ होला ।

म्युजिक भिडियोहरु गर्दै हुनुहुन्छ होइन त ?

अँ, गर्दैछु । विशेषगरी आफ्नो कल्चरल भिडियोहरुमा मोडलिङ गर्दै आएकी छु । अहिले पनि एउटा पालमको सुटिङ गर्दैछु । सुटिङ आधाआधीमै रोकिएको छ । चाँडै पूरा हुन्छ ।

ग्ल्यामसर क्षेत्र कस्तो लागिरहेको छ ?

रमाइलो । यो क्षेत्रमा काम गर्न थालेको खाशै धेरै भएको छैन । यो छोटो समयको अनुभवमा रमाइलै छ ।

मोडलिङ क्षेत्र ‘राम्रो’ होइन भन्ने टिकाटिप्पणी सुनिन्छ नि ?

त्यो त नबुझ्नेलाई मात्र हो । मैले पनि यो क्षेत्रमा लाग्नुभन्दा अगाडि यस्तै सुनेकी थिएँ । तर, बुझ्दै जाँदा बाहिर बसेर टिप्पणी गरेजस्तो लागेन । राम्रो र नराम्रो हुन भनेको आफूमा पनि भर पर्ने कुरा हो ।

फिल्मी अभिनय र मोडलिङमध्ये प्राथमिकता कुनलाई हो ?

मेरो प्राथमिकता यही भन्ने छैन । आफ्नो कला संस्कृतिमूलक भयो भने फिल्म र मोडलिङ दुवै गर्छु । यसो भनेर मोर्डन चाहीँ नगर्ने भन्ने होइन । मेरो पहिलो प्राथमिकता आफ्नो मौलिक कला र संस्कृतिलाई हो ।

नेपाली फिल्मका लागि प्रस्ताव आयो भने नि ?

कथावस्तु राम्रो र मलाई सुहाउँने भूमिका छ भने काम गर्छु ।

कलाकारिता क्षेत्रमा राम्रो पक्ष के लाग्यो ?

यो क्षेत्रमा लाग्नुभन्दा अगाडि कसैले चिन्दैनथिए । तर, हिजोआज थोरैले भएपनि सनम पयाँगू भनेर चिन्न थाले । यही नै कलाकारिता क्षेत्रको राम्रो पक्ष । अर्को भनेको कलाकारितामार्फत आफ्नो कला संस्कृतिको प्रवद्र्धन र सम्वद्र्धन गर्न पाइन्छ ।

कलाकारिताबाहेक अरु के गर्नुहुन्छ ?

सानोतिनो व्यापार÷व्यवसायी गर्छु । यहाँ कलाकारिता गरेरमात्र पुग्दैन ।

व्यवसायी के हो, भन्न मिल्छ ?

हालै मैले रेष्टुरेण्ट सञ्चालनमा ल्याएकी छु । फुर्सदमा बस्नुभन्दा केही गरौँ भन्ने सोचले रेष्टुरेण्ट खोलेकी हुँ ।

मोडल अनि व्यवसायी हुनुहुन्छ । प्रेमको प्रस्ताव कतिको आउँछ ?

त्यस्तो प्रस्ताव त आएको छैन । जिस्किने साथीहरु त धेरै छन् । तर, डिप्ली माया गर्छु भन्नेहरु आएका छैनन् । लिम्बू संस्कारमा जिस्किनुलाई सामान्य मानिन्छ ।

जीवनसाथी कुन क्षेत्रको रोज्ने सोच छ ?

केही सोच आएको छैन । लाहुरे वा व्यवसायी नै हुनुपर्छ भन्ने छैन । घरमा आमा बुबाले यो सालबाट विवाह गर्नुपर्छ भन्न थाल्नुभएको छ । तर, मैले विवाहबारे केही सोचेकी छैन ।

भविष्यको लक्ष्य के लिनुभएको छ ?

सानैदेखि फेसन डिजाइनर बन्ने इच्छा थियो । अहिले पनि त्यो इच्छा छ । सायद म फेसन डिजाइनर नै बन्छु होला । यो भविष्यको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्