Logo
Logo

आगो काण्डमा एसएसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय लेखा स्टोरमा २०७४ पुष महिनामा भएको आगलागी घटनाको अनुसन्धान अझै सकिएको छैन । उच्च अधिकारी जोडिने भएपछि आगलागीको उद्देश्यलाई गुपचुप बनाउने प्रयास भइरहेको छ ।

स्रोतका अनुसार सो घटनामा तत्कालीन आर्थिक प्रशासन महाशाखा प्रमुख रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अभि खत्रीको समेत मिलेमतो थियो । खत्रीको प्रत्यक्ष आदेशमा सो काम भएको सशस्त्रका अधिकारीहरु बताउँछन् ।

तत्कालीन संगठन प्रमुख कोषराज वन्तको भ्रष्टाचार फाइल ध्वस्त बनाउने सुनियोजित षड्यन्त्रस्वरुप सो घटना भएको थियो । वन्तसँगै आर्थिक महाशाखा प्रमुख खत्री पनि सो भ्रष्टाचारमा तानिने भएपछि आगो लगाउन लगाएका थिए । तर, अहिले आफूले सबैतिर सेटिङ मिलाइसकेको र केही नहुने भन्दै रवाफ दिने गरेका छन् ।

प्रहरी र अख्तियारले सो प्रकरणमा तल्ला तहका कर्मचारीमाथि कारबाही गरिसकेको छ । तर, उच्च तहका प्रहरीमाथि अनुसन्धान हुन सकेको छैन ।

जो प्रकरणमा मुछिएका एसएसपी खत्री विगतमा पनि कारबाही भोगेका अधिकृत हुन् । लामापाटन तालिम केन्द्रमा हुँदा खाट लगायतका सामान निजी प्रयोजनका लागि गेट बाहिर लैंजादै गर्दा तत्कालीन तालिम केन्द्र प्रमुख प्रकाश ओझाले देखेर कारबाही गरेका थिए । सिन्धुपाल्चोक, शम्शेरगञ्ज बस्दा पनि उनी विवादमा परेका थिए । भन्डार शाखामा कार्यरत डिएसपी होम ज्ञवाली र ३ ब्याच टपेर एसपी हुन खोज्ने दयाराम शर्मासँग उनको साँठगाँठ रहेको छ ।

उनीहरुले छुट्टै सेवा समूह बनाएर छिटो बढुवा हुने दाउमा थिए । तर, ती समूह खारेज भएसँगै उनीहरुको सपना अधुरै भयो । ज्ञवाली तेस्रो ब्याचका हुन् । अहिले भर्खर दुइ ब्याचका ३७ जना एसपी भएका छन् । तीन महिना तालिम गरेर तीन ब्याचका ज्ञवाली र चौथो ब्याचका शर्मा एसपी हुने दाउमा थिए ।

स्वार्थी समूहकै कारण सशस्त्र प्रहरी बलमा अबसरबादी अफिसर संगठनको लागि घातक हुँदै गएको छ । यस्तै अधिकृतमध्ये एक हुन् युवराज अर्याल । उनी पनि ब्याच टपेर बढुवा हुन खोजेका थिए । तर, असफल भए । एआईजीहरु समेत संगठनभन्दा व्यक्तिवादी हुँदा संगठनले सोचेअनुसार काम गर्नसकेको छैन । आफूहरुको स्वार्थ पूरा नभएपछि आफ्नै संगठनको बदनाम गराउने अधिकृतहरु समेत सशस्त्र प्रहरीमा देखिएका छन् । जसमा एसपी नानीराम हुमागाई लगायत पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्