Logo
Logo

मतदाता, कार्यक्रम र चुनाव चिन्ह



मौसम चुनावको छ । गाउँघरतिर चुनावी छलफलहरू विस्तारै बाक्लिँदै छन् । यो बेला मतदाताहरू नयाँ नेतृत्व छान्न उत्साहित हुनु स्वभाविकै हो । स्थानीय तहमा अहिले काम गरिरहेका जनप्रतिनिधिहरूको समीक्षा पनि भइरहेको छ ।

राजनीतिक दलहरु आ–आफ्नो सांगठनिक संरचनाहरूको निर्माण, पुनःनिर्माण गर्न व्यस्त देखिन्छन् । त्यसबाहेक उनीहरूभित्र टिकटका लागि आन्तरिक प्रतिस्पर्धा पनि तीव्र छ । अब केही दिनमा उम्मेदवारहरू सतहमा देखापर्नेछन् । त्यसपछि चुुनावी प्रचार अरु तीव्र बन्ने नै छ ।

नेपाल संघीय लोकतान्त्रिक मुलुक भइसकेपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । स्थानीय तहका फाइदा–बेफाइदाका बारेमा मानिसहरू पर्याप्त सुसूचित भइसकेका छन् । यस बीचमा सञ्चारका विभिन्न माध्यमहरूको विकासले मतदाताहरूको स्तरमा पनि व्यापक वृद्धि भएको छ । मतदाताको चेतनास्तरमा भएको विकासअनुरुप दलहरूले आफ्ना कुराहरू भन्न सक्नुपर्छ । अर्थात् त्यसअनुसारको घोषणापत्र र प्रतिबद्धता आउनुपर्छ ।

यतिखेर मनिसहरू विकासको विश्वसनीय खाका खोजिरहेका छन् । विकासका त्यस्ता योजनाहरू नेपालको आर्थिक क्षमताअनुरुप हुनुपर्ने कुरामा दलहरूभन्दा मतदाताहरू सचेत छन् । त्यसै भएर त आजकाल नेताहरूका हावादारी योजनाहरू निरन्तर हास्यास्पद हुने गरेका छन् ।

निर्वाचन भनेको वैचारिक प्रतिस्पर्धा गर्ने माध्यम पनि हो । तर, यो निर्वाचनमा विचारको बहस गर्न दलहरू तयार भएको देखिएन । कोही सूर्य देखाएर त कोही अरु चिन्ह देखाएर भोट माग्दैछन् । दलका नाम र चिन्ह परिवर्तन भइरहन्छन् । काम गर्ने विचारले हो ।

भन्न त भनियो नि, ‘केरुङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्ग’ बनाउने कुरा, तर मान्छेले पत्याएनन् । किनकि, त्यो नेपालको आर्थिक प्रणालीले नभ्याउने कुरा थियो । ‘घर–घरमा ग्यासको पाइप’ पुर्याउने हावादारी गफ आफैँ हरायो । अब मान्छेहरू हाम्रो आर्थिक क्षमताले भ्याउने विकास र समृद्धिका योजनाहरू खोज्दैछन् । त्यो भन्दा धेरै भ्रष्टाचारमुक्त समाज आजका मतदाताहरूको प्रमुख माग हो । यो मागलाई सम्बोधन गर्ने विश्वसनीय आधार जुन दलले दिन्छ, त्यसले निर्वाचनमा राम्रो परिणाम ल्याउने कुरामा कुनै शंका छैन ।

गाउँबस्ती उजाड पार्दै लाखौँ युवा खाडी मुुलुकमा पसेका छन् । तिनीहरूलाई नेपालमा रोजगारी उपलब्ध गराउने ठोस योजनाहरू चाहिएको छ । त्यो कसले दिनसक्छ ? आजको प्रमुख प्रश्न यो हो । विदेशिएका नेपाली युवालाई अब धरहरा र भ्यूटावर खडा गर्ने कुराले कुनै प्रभाव पर्दैन ।

‘हजुरआमा के भन्नुहुन्छ… हजुर बा के भन्नुहुन्छ…’ भन्ने गीतमा मान्छेहरू धेरै नाचे, तर अब नेपाली युवा के भन्छन् ? जनता के चाहन्छन् ? विकासको मोडल के हो ? समाजवादी कि दलाल पूँजीवादी ? श्रमजिवीको पक्षमा विकास कि ? यती, ओम्नीको विकास ? किसानको हितमा कि ? बतासको हितमा ? ढलेको धरहरा त आज नभए भोलि उठाउँला, तर खाडीमा ढलेका नेपाली युवाहरूको शरीर कहिलेसम्म ढलिरहनुपर्ने हो ? आजका मतदाताहरू यो नियतिबाट मुक्ति चाहन्छन् । यस्ता प्रश्नहरूमा दिमाग खियाइरहेका छन् । उत्तर खोजिरहेका छन् ।

तर दलहरू योजनाका कुराहरू, विचारका कुराहरूभन्दा धेरै चुनाव चिन्हको प्रचारमा व्यस्त छन् । चुनावी मतपत्र सेतो राख्ने कि हरियो राख्ने ? यस्तो बहसमा पूर्वप्रधानमन्त्री भइसकेको मान्छे नै अग्रमोर्चामा देखिन्छन् । अहिले नेपालको प्रमुख मुद्दा मतपत्रको रङ हो ?

गालीगलौज र उखान टुक्का सुरु भइसकेको छ । बुद्धिजीवीहरू भेला भएर जुम्राको उत्पत्तिको बारेमा छलफल गर्छन् । आफूलाई ठूला ठान्ने दलहरूको यो वैचारिक स्खलन अत्यन्त डरलाग्दो देखिँदैछ । आफूलाई देशकै मसिहा ठान्नेहरू अन्य प्रतिस्पर्धी दलहरूलाई सिंगल सिंगल आऊ भनेर हुँकार गर्दैछन् ।

निर्वाचन भनेको सिंगल–सिंगल लडने रेस्लिङ हो ? आवश्यकताअनुसार निर्वाचनमा गठबन्धनहरू हुन सक्छन् । संसारभर यो तरिका प्रचलनमा छ । मुख्य कुरा भनेको योजना हो, कार्यक्रम हो, प्रतिबद्धता हो, इमान्दारिता हो, दूरदर्शिता हो ।

अब स्वर्गीय नेताहरूका फोटोहरू देखाएर भोट माग्ने जमाना पनि गइसक्यो । विपी वा मदन र मनमोहनका फोटाहरू देखाएर गरिने भ्रष्टाचार कहीँ क्षम्य हुन्छ ? केपीले जबज र मदन देखाएर नै संसद् भंग गरेका होइनन् ? यती, ओम्नी र बतासहरूले एमाले कब्जा गर्दा पार्टी अफिसको भित्तामा कालमाक्र्स र लेनीनको फोटोहरू नै थियो । त्यही फोटोमुनि अर्बौको डिल भएको तथ्य कसरी भुल्न सकिन्छ ? त्यसकारण आजको मतदाताहरूलाई विश्वासमा लिन आजकै नेताहरूले आजकै लागि विश्वसनीय कार्यक्रमहरूसहित गाउँबस्ती जानुपर्छ ।

निर्वाचन भनेको वैचारिक प्रतिस्पर्धा गर्ने माध्यम पनि हो । तर, यो निर्वाचनमा विचारको बहस गर्न दलहरू तयार भएको देखिएन । कोही सूर्य देखाएर भोट माग्दैछन्, कोही अरु चिन्ह देखाएर । चुनाव चिन्हले विकास गर्ने हो कि मान्छेले गर्ने हो ? राजनीतिक दलहरूका नाम र चिन्हहरू परिवर्तन भइरहन्छन् ।

पंक्तिकार राजनीतिक पार्टीमा सामेल हुँदा पार्टीको नाम नेकपा (माले) थियो । त्यो नाम असाध्यै मन पर्दथ्यो । आफ्नै आँखा अगाडि त्यो पार्टीको नाम नेकपा (एमा र ले) भयो । सुरु–सुरुमा यो नाम मन परेन । विस्तारै बानी पर्दै थियो, फेरि नेकपा (एमाले) भयो । समयकाल क्रममा नाम परिवर्तन भएर (नेकपा)को पनि झण्डा बोक्यौं । आज नेकपा (एकीकृत समाजवादी) भएको छ ।

चुनाव चिन्हकै कुरा गर्ने हो भने पनि २०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह मकैको घोगा थियो, फेरि सूर्य भयो र आज कलम भएको छ । भन्न खोजिएको कुरा के हो भने पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन भइरहन्छन् । मुख्य कुरा माक्र्सवादी विचारलाई हाम्रो विशिष्ठतामा कसरी लागू गर्ने भन्ने हो । त्यसका लागि आजको आवश्यकताको पहिचान र तदनुकूलको कार्यक्रम र व्यवहार हो ।

केही मतदातामा पुरानो पार्टी र पुरानो चुनाव चिन्हमा रहेको भ्रम पूरै तोडिइसकेको छैन । या त वर्तमान अवस्थाप्रति सन्तुष्ट हुनुपर्यो, यदि सन्तुष्ट हुन सकिँदैन भने मतदाताले पनि विकल्प खोज्नुपर्छ । एउटा हातमा सूर्य चिन्ह र अर्को हातले मदन भण्डारीको फोटो उचालेर गोजीभरि नगद थुपार्ने प्रवृत्तिलाई परास्त गर्न सकिएन भने नेपालको राजनीति बिहारी राजनीतिमा रुपान्तरण हुन्छ । त्यतिखेर कम्युनिष्ट आन्दोलनको त कुरा छोडौँ, लोकतान्त्रिक आन्दोलनसमेत धरापमा पर्न सक्छ ।

यतिखेर नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन दुवै समान ढंगले खतरामा छन् । राजावादीहरूको गतिविधि तीव्र भएको छ । केपी गुट राजवादीहरूसँग गठबन्धन बनाएर चुनावमा होमिँदैछ । यिनै परिस्थितिलाई विचार गरेर नै लोकतन्त्रवादीहरूसँग नेपालका कम्युनिष्टहरूले चुनावी गठबन्धनको चर्चा चलाएका हुन् ।

तसर्थ, मुलुक चुनावमा अघि बढिरहेको यो बेलामा मतदाताहरूको सचेतनता, राजनीतिक दलहरूको विश्वसनीय कार्यक्रम र योजना तथा कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट उठाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिनुको विकल्प छैन । यसतर्फ लोकतान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिको समान बुझाइले नै मुलुकलाई दुर्घटनाबाट जोगाउन सक्छ । धन्यवाद ।

(लेखक, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्