Logo
Logo

सचिवमाथि छानविन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास बजेटमा हुने भ्रष्टाचारको बारेमा चासोका साथ छानबिन गरिरहेको छ । विकास बजेटमा अरबौं भ्रष्टाचार हुने गरेका तथ्यहरु सार्वजनिक भएपछि अख्तियारले गहिरोसाग अनुसन्धान थालेको छ । बहुबर्षीय आयोजना भन्दै अन्धाधुन्द अरबौं रुपैयाँका ठेक्का दिने सडक विभागका पूर्वमहानिर्देशक माधवकुमार कार्कीमाथि अख्तियारले मिहीन ढंगले छानबिन गरिरहेको छ । सडक विभागको महानिर्देशक कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव उनका भाइ अर्जुनकुमार कार्की हुँदा अरबौंका बहुबर्षीय ठेक्का दिइएको थियो ।

अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख हालका मुख्यसचिव लोकदर्शन रेग्मी भएको बेला बहुबर्षीय ठेक्काको अनुमति दिएका थिए । माधव र अर्जुन कार्कीका दाजुभाइले अरबौंको ठेका दिएर अग्रिम ७ प्रतिशत कमिसन लिएको आरोप थियो । माधव कार्कीले सडकका ठेक्कामा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकोबारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ । सडकका धेरै वटा कामको अरबौंका प्याकेज बनाएर ६ वटा ठेकेदारलाई मात्र ठेक्का दिएर करोडौं घुस लिनेमा पनि माधव र अर्जुनको नाम लिने गरिन्छ । हाल पुननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीको पनि सम्पत्ति छानबिन भइरहेको छ । मेलम्ची खानेपानी आयोजना डुबाएपछि नेपाल ट्रष्टमा सरुवा भएका सचिव गजेन्द्र ठाकुरमाथि पनि छानबिन भइरहेको छ ।

सडकका ठेक्कामा सेटिङ गरी प्याकेज बनाएर ६ वटा ठूला ठेकेदारलाई ठेक्का दिई अरबौं सरकारलाई नोक्सान पार्ने सडक विभागका महानिर्देशक गोपाल सिग्देलबिरुद्ध पनि अकूत सम्पत्ति आर्जनमा उजुरी परेको छ । सडक विभागअन्तर्गत आयोजनाका डीई र इन्जीनीयरहरुको पनि सम्पत्ति छानबिन भइरहेको स्रोतले बताएको छ ।

त्यसैगरी विकास बजेटमा भ्रष्टाचार गर्ने सहरी विकास तथा भवन विभाग र खानेपानी विभागका सहसचिवदेखि डीईहरुको बारेमा परेका उजुरीमा पनि छानबिन भइरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्