Logo

देशले अर्को प्रसवपीडा भोग्न नपरोस्



आमाले एकपल्ट मात्र प्रसवपीडा भोगे पुग्छ भन्ने हुँदैन रहेछ । नयाँ सन्तानका निम्ति त फेरि पनि उही पीडा खप्नुपर्छ । हाम्रो देशले पनि धेरै पल्ट नै त्यो व्यथा खप्नु परेको छ ।

२०६२÷६३मा लोकतन्त्र जन्माउनको निम्ति फेरि एकपल्ट त्यो असह्य व्यथा सहनु पर्यो । अहिले त्यो क्षणमा फर्केर हेर्दा नागरिकका त्याग र बलिदानका रूपमा देशले भोगेको त्यो पीडा जीवन्त भएर देखा पर्छन् ।

कोही जेलमा थिए । प्रशासनको लाठी गोली खाएर त कोही अपाङ्ग भइसकेका थिए, कोही शहीद नै भैसकेका थिए । घरमा बसेका मानिस चिन्तित थिए– बाहिर गएका आफ्ना सन्तान, श्रीमान, श्रीमति, बाबुआमा, दाजुभाइ दिदीबहिनी घर फर्किने हुन् कि हैनन् भनेर ।

स्कूल कलेज बन्द भैसकेका थिए । चैत २४ गते देखि त कडा कफ्र्यु नै लागिसकेको थियो । २०६२ चैतको अन्तिम हप्ता– मौसम पनि हावा हुन्डरी, चर्को घाम, सबैको मनमा अशान्ति थपिदैं थियो । मेरो घरको मुली सरोज पनि दुवाकोट सशस्त्र प्रहरीको ब्यारेकमा बन्दी थियो– २६ गतेको कफ्यैु अवज्ञा गर्दा शिक्षण अस्पतालबाट एकैपल्ट गिरफ्तार परेका २४ जना मध्येको एक ।

असन्तुष्टिको सम्बोधन तत्काल नहुने हो भने देशको गर्भमा भ्रुण हुर्कन्छ र कुनै पनि बेला अर्को प्रसवपीडा शुरु हुनसक्छ । असन्तुष्टिहरुको सम्बोधन गरिएन भने देशले भोग्नुपर्ने अर्को प्रसवपीडा खतरनाक हुन सक्छ ।

देशमा भइरहेको आन्दोलनले घर–घर प्रभावित हुनु स्वभाविकै थियो । त्यतिखेर डायरीमा कोरेका अक्षरलाई फेरि एकपल्ट फर्केर हेर्दा त्यो अनौपचारिक ‘नागरिक दस्तावेज’ को सानो टुक्रा देशकै इतिहासको एउटा सानो चित्र जस्तै लाग्दैछ ।

अलि अगाडि नै लाग्न थालिसकेको थियो– यसपाली सरोज जेल पर्न सक्छ भन्ने कुरा । साँच्चै त्यस्तै नै भयो । यसैमा त केही खेद भएन । अरु आन्दोलनकारीहरू, आफ्ना नजिकका मित्रहरू पनि साथ भएकोले सारै ठूलो चिन्ता पनि लागेको हैन । देशको चिन्ता भने लाग्दै थियो । जति दिन बित्दै गयो त्यति नै चिन्ता पनि थपिंदै गयो ।

आन्दोलनबारे, क्रान्ति र विद्रोहबारे कुरा गर्दा सरोज भन्ने गथ्र्यो– ‘क्रान्ति, आन्दोलन, विद्रोह, विप्लव जे भने पनि जनताका असन्तुष्टिको विष्फोट हो । असन्तुष्टि बढ्दै गएर एउटा बिन्दुमा पुगेपछि विष्फोट हुन्छ ।’

ऊ के पनि भन्थ्यो भने– ‘हुन त क्रान्ति सम्पन्न हुँदा हुँदै नै अर्को विष्फोटको निम्ति बीऊ रोपिइसकेको हुन्छ– किनकि जनता भनेकै वर्तमानभन्दा फरक र राम्रो भविष्य खोज्ने मान्छेको समुह हो ।’

६२–६३ कै आन्दोलनमा भने ऊ यसरी होमिएको थियो कि ओपिडी वा अपरेशन थिएटरबाट सिधै सडकमा जुलुसहरूमा पुग्थ्यो । घरमा आएर भन्थ्यो ‘यसपालीको आन्दोलन फरक छ । आफू केप्रति असन्तुष्टि हो भन्ने मात्र हैन, के चाहेको हो भन्ने पनि थाहा छ जनतालाई । लोकतन्त्र र सामाजिक न्यायसहितको समृद्धिका निम्तिको संघर्ष हो यो । अहिलेको राजतन्त्रले त्यो बाटो छेकेको हुँदा गणतन्त्रको लडाईँ पनि बनेको हो ।’

हामी समाज रूपान्तरणका निम्ति भनेर आन्दोलनमै लागेका बेला चिनापर्ची भएर दाम्पत्य जीवनमा गाँसिएका– एकार्कालाई बुझ्ने प्रयत्न गथ्र्याैँ । विभिन्न विषयमा छलफल अहिले पनि भइरहन्छ ।

हप्तौँसम्मको अन्योलपछि चैतको ३० तिर दुवाकोटमा भेट्न जाँदा छोरीहरू पनि साथमै थिए । त्यहाँ बाबुलाई भेट्ने बित्तकै ‘वि आर प्राउड अफ यू, बुवा !’ भने छोरीहरूले । सरोजसँगै अरु मित्रहरूलाई पनि भेटेर आउँदा मन केही सञ्चो भयो ।

पद्मदाइका छोराछोरीसँगै नीलशोभा भाउजु र अरु बन्दी साथीका श्रीमति पनि हुनुहुन्थ्यो । त्यो दिन भेट गराउने दिन भनेकोले नै उत्साहित भएर हामी सबैले गाडी मिलाएर पुगेका थियौं । एकछिनको भेटघाटपछि आफ्नो प्यारो मान्छेहरूलाई त्यहीं छोडेर फर्किरहँदा पक्कै पनि सबैको मन मेरोजस्तै दुखेकै थियो होला ।

त्यसपछिका दिनहरूमा आन्दोलन र दमन दुवै चर्किरह्यो । देश प्रसव पीडामा झन् झन् चिच्याइरह्यो । डरलाग्दा क्षणहरू आए । आन्दोलनकारीहरूको शहादतको खबर झन् झन् बढी सुनिन थाल्यो । जेल परेकाहरूको स्थिति कहिले थाहा पाइनथ्यो, कहिले भने केही सुनिँदैन थियो ।

अन्ततः जनताको अर्को एउटा विजय जन्म्यो र त्यो प्रसवपीडाको अन्त्य भयो । देशको त्यो प्रसवबाट जन्मेको गणतन्त्र नै हो भनेर न्वारान् हुन भने अरु केही समय पर्खनु पर्याे । गणतन्त्र जन्मदा होस् वा न्वारान् हुँदा– जनताको पंक्तिमा खुसी लहराएको थियो ।

…तर त्यो खुसीको पनि आयु लामो रहेनछ । असन्तुष्टिका अनेक रूपको सानो ठूलो विष्फोट भइनै रह्यो । आमाले प्रसवपीडा भोग्दैमा सग्लो स्वस्थ बच्चा नै जन्मिन्छ भन्ने हुँदो रहेनछ । देशले पनि जब आन्दोलनका रूपमा प्रसवपीडा भोग्छ, सग्लो स्वस्थ व्यवस्था नै जन्मिन्छ भन्ने हुँदो रहेनछ ।

कतिपय देशले प्रसवपीडाबाट जनताको स्वतन्त्रता, न्याय समृद्धि जन्माउन सफल भएका छन् । केहीले त्यो बच्चा हुर्काए, तर कतिका बच्चा अरुले अपहरण गरेर लगिदिए । केही देशले भने लोकतन्त्र जन्माउँछु भनेर अत्यन्त कष्टपूर्ण प्रसवपीडा भोगे, तर जन्मिने बेला अर्कै अनुहारको डरलाग्दो तानाशाही जन्मिन पुगेको छ । कतिपय देशको प्रसव पीडाका क्रममा भने आमाकै मृत्यु पनि भएको छ ।

असन्तुष्टिको विष्फोटका रूपमा देशले भोगेको पीडा आफ्नै अङ्गभङ्गमा टुङ्गिएको छ । देशहरू टुक्रिएका छन् । र ती टुक्रा पनि आपसमा लड्दै एकार्लाई सिध्याउन उद्दत छन् । देश भूभाग मात्र हैन, माटो र ढुङ्गा मात्र हैन, जनता पनि हो । र जनता जहिले पनि वर्तमानभन्दा राम्रो केही खोजिरहेकै हुन्छ । त्यसैले देशले फेरि–फेरि गर्भाधान गरिरहन्छ, प्रसवपीडा भोगिरहन्छ । यो स्वाभाविक हो ।

अब ‘कहिल्यै देशले प्रसवपीडा नभोगोस’ भन्दैमा त्यो सम्भव हुँदैन । काखको बच्चाले आमा, ‘मलाई बहिनी (वा भाइ) चाहियो भनेर झगडा गरेपछि आमाहरू गर्भाधान गरिदिन्छन् । आमाहरू त बुढी हुन्छन, एउटा उमेरमा पुगेपछि गर्भाधान गर्न सक्दैनन् । देशले भने आफू रहुन्जेल जनताले खोजेपछि प्रसवपीडा भोग्न बाध्य हुन्छ । प्रसूति डरलाग्दो पनि हुनसक्छ । जन्मेको सन्तान खोजे जस्तै नहुन पनि सक्दो रहेछ । सन्तान जन्माउन खोज्दा आफै नरहन पनि सक्छ ।

६२–६३ को आन्दोलनपछि पनि अहिले डेढ दशक त बितिनै सक्यो । जनताभित्र अर्कै किसिमको असन्तुष्टि सल्बलाउन थालेको छ । यो असन्तुष्टिको सम्बोधन तत्काल नहुने हो भने त्यो देशको गर्भमा भ्रुणका रूपमा हुर्कँदैछ र कुनै पनि बेला फेरि प्रसवपीडा शुरु हुनसक्छ ।

जनताका असन्तुष्टिको सम्बोधन इमान्दारी, ज्ञान, शीप, सद्वुद्धि, र मेहनतका साथ पार्टीहरूले गर्न सकेनन् भने देशले भोग्नुपर्ने अर्को प्रसवपीडा खतरनाक हुन सक्छ । चुनावको बेला आउँदै छ । नेताहरूमा सद्वुद्धि पलाओस् । सबको मंगल होस !

प्रतिक्रिया दिनुहोस्