Logo
Logo

फिल्मी क्षेत्र धान्दै हिरोइन




एमपी सुब्बा ।

काठमाडौं । फिल्म क्षेत्रमा लगानी हिरो र हिरोइन लक्षित एउटा भनाइ छ, ‘अभिनयमा बिक्न छाडेपछि निर्माता÷निमात्री’ । यो भनाइ नेपाली फिल्ममा मात्र नभएर भारतीय फिल्मी उद्योग बलिउडमा समेत लागू हुँदै आएको छ । तर, अहिले तिनै हिरो÷हिरोइनको लगानीले नेपाली फिल्मको आधाभन्दा बढी हिस्सा ओगटेको छ ।
जतिखेर (सन् २००९)मा बलिउड अभिनेत्री सुस्मिता सेन निर्मात्रीका रुपमा देखिइन्, त्यतिखेर यो नेपाली भनाई बलिउडमा चर्चित बन्यो । यता नेपालमा भने जब अभिनेत्री करिश्मा मानन्धर फिल्ममा लगानी गर्न तम्सिइन्, तब भनियो, ‘निर्माता÷निर्देशकले पत्याउन छाडेपछि करिश्मा निर्मात्री बनिन् ।’ तर, पछिल्लो अवस्था त्यस्तो छैन जबकि हिरो÷हिरोइनहरुले नै फिल्ममा लगानी गरेर उल्टै निर्देशकहरुलाई काम दिन थालेका छन् ।
बलिउड अभिनेत्री सुस्मिता र कलिउड भनिने नेपाली फिल्मकी सदावहादर अभिनेत्री करिश्माले सुरु गरेको कार्यलाई पछिल्लो सयम अधिकांश अभिनेत्रीले शिरोपर गर्दै आएका छन् अर्थात चलिरहेकै बेला फिल्ममा लगानी गरिरहेका छन् । फिल्ममा लगानी गर्न बलिउडमा अभिनेताहरु अगाडि छन् भने नेपालमा भने अभिनेत्रीहरु ।
नेपाली फिल्मका ‘महानायक’ भनिने अभिनेता राजेश हमालले अहिलेसम्म फिल्ममा लगानी गर्न हिम्मत गरेका छैनन् । एक समय निर्माण तथा निर्देशनमा तम्सिएका अभिनेता हमाल पछिल्लो समय टिभी रियालिटी शो ‘को बन्छ करोडपति’ मै थन्किएका छन् । तर, अभिनेत्रीहरु भने फिल्ममा करोडौं खचिरहेका छन् ।
फिल्म ‘बाबु साहेब’मा करिब एक करोड खन्याएर निर्मात्री बनेकी करिश्मा नयाँ शक्ति पाटीको राजनीतिमा हराइरहेका बेला उनको पथ पछ्याउँदै रेखा थापा, झरना थापा, पुजा शर्मा जस्ता अभिनेत्रीहरु निर्माणमा सक्रिय भएका छन् । यी अभिनेत्रीहरुको सन्दर्भमा माथि उल्लेखित भनाइ लागू हुँदैन किनकि यी सबै अहिले बिकिरहेका अभिनेत्रीहरु नै हुन् ।

पुजा नेपाली


त्यस्तै, बलिउडमा पनि बिकाउ अभिनेत्रीहरु नै निर्माणमा अगाडि देखिएका छन् । प्रियंका चोपडा, दीपिका पादुकोण, सोनाक्षी सिन्हाजस्ता अहिलेका जल्दाबल्दा अभिनेत्रीहरुले फिल्ममा करोडौँ लगानी गरिरहेका छन् । सलमान खान, शाहरुख खान, आमिर खान, अक्षय कुमार जस्ता बलिउड अभिनेताहरुको कुरै छाडौँ । एक किसिमले भन्ने हो भने यी ती अभिनेताहरुकै लगानीमा बलिउडको आधा हिस्सा धानेको छ ।
तर, नेपाली फिल्म उद्योगमा भने अहिलेसम्म अभिनेता भुवन केसीबाहेक अरुले लगानी गरेको खासै पाइएको छैन । तर, जति अभिनेत्रीहरुले लगानी गर्दै आएका छन् । तिनले नेपाली फिल्म उद्योगको आधाभन्दा बढी हिस्सा ओगटेको छ ।
पुजा नेपाली फिल्मकी चलेकी हिरोइनमध्ये पर्छिन् । तर, उनको लगानीले नेपाली फिल्म उद्योगमा इँटा थप्ने काम गरेको छ । फिल्म ‘प्रेम गीत’मार्फत एकाएक चर्चामा आएकी पुजा ‘रामकहानी’बाट निर्मात्री बनेकी हुन् । फिल्म ‘रामकहानी’मा लगानी गरिरहँदा यी पुजा ‘म यस्तो गीत गाउँछु’मार्फत चर्चामा थिइन् । र, अहिले पनि चर्चामै छिन् । तर, पुजाले आफू चलेको अभिनेत्री भएर पनि फिल्म निर्माणलाई अगाडि बढाएकी छिन् ।
रेखा, पुजा र झरनाहरुको फिल्ममा लगानी गर्ने जोशले नयाँ आउने अभिनेत्रीहरुलाई पनि हौसला मिलेको छ । तर, उनीहरुको एउटै दुखेसो छ, ‘फिल्ममा लगानी गर्नुभन्दा प्रदर्शन गर्न गाह्रो छ ।’ यहाँ महिला भएकाले मात्र नभएर आम निर्माताको पीडा पनि हो यो । तर, केही लगानीकर्ता अभिनेत्रीहरुले आफू महिला भएकै कारण पनि फिल्म रिलिज गर्ने बेलामा सास्ती खेप्नु परेको बताउँदै आएका छन् ।
फिल्म निर्माणमा हात हालेकै बेला पुजाले दृष्टिसँग भनेकी थिइन्, ‘आफू पनि केही नयाँ गरांँै र नयाँ सोचमा फिल्म बनाउँ भन्ने उद्देश्यले निमार्णमा हात हालेकी हुँ ।’ तर, उनलाई फिल्ममा लगानी गर्नुभन्दा प्रदर्शन गर्नलाई चिन्ता छ । आफ्नो लगानीमा बनेको फिल्ममा समेत आफै नायिका रहेकी पुजाले भनिन्, ‘अरुलाई नायिका बनाउँदा लगानी जोखिममा पर्ने देखिएपछि आफैले अभिनय गरेकी हुँ ।’ हुन पनि पुजाले अभिनय गरेका अहिलेसम्मका कुनै पनि फिल्म फ्लप भएको छैन ।
अर्की लगानीकर्ता अभिनेत्री हुन् पुर्णिमा लामा । फिल्म ‘हिरोज’मा करिब एक करोड रुपैयाँ खन्याएर पनि हरेश नखाएकी पुृर्णिमा भन्छिन्, ‘फिल्म बनाउनुभन्दा चलाउनु गाह्रो छ ।’
फिल्म रिलिज गर्नेबेला ‘डनगिरी’को चलखेल हुने हुनाले महिलाका लागि फिल्ममा लगानी गर्नुभन्दा रिलिज गर्नु गाह्रो हुने उनको अनुभव छ । हाल फिल्म ‘कमेरो’ निर्माणमा जुटेकी यी पुर्णिमा भन्छिन्, ‘राज्यले फिल्ममा लगानीकर्ता महिलाहरुलाई राहत मिल्ने नीति ल्याए नेपाली फिल्म उद्योगको आधाभन्दा बढी हिस्सा महिलाले धान्ने थिए । तर, अहिलेसम्म त्यस्तो कुनै संकेत छैन ।’

प्रतिक्रिया दिनुहोस्