Logo
Logo

लागुऔषध : ‘शान्ति सुरक्षा र अपराधको चुनौती बनेको छ’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ असार । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् ।
समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले बुधबार राजधानीमा आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताए ।
‘शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको छ, यसलाई नियन्त्रण गर्न सरकारी र गैरसरकारी संस्थाको उत्तिकै दायित्व छ’, उनले भने । लागुऔषध दुव्यर्सनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
गृहमन्त्री थापाले लागुऔषध दुव्यर्सनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गरे ।
लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको उनको भनाइ थियो । लागुऔषध दुव्यर्सनीमा युवापुस्ता बढी लागेको भन्दै शैक्षिक संस्थामा जागरुकता बढाउन मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको बताउँदै लागुऔषध दुव्यर्सनीलाई नियन्त्रण गर्न सप्ताहव्यापी अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुनुका साथै कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेको छ, यसलाई रोकथाम गर्नु हामी सबैको दायित्व हो’, उनले भने ।
हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेको भन्दै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने उनको भनाइ छ । सचिव राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न लागुऔषध दुव्यर्सनी समस्याको समाधान गर्नु जरुरी रहेको बताए ।
गृहमन्त्रालयका सहसचिव एवं मुख्य लागुऔषध नियन्त्रण अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले नेपालमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख््या बढ्दै गएको बताउँदै यसलाई रोकथाम गर्न सचेतनामूलक कार्यक्रम व्यापकरूपमा अगाडि बढाउनुपर्ने बताए । उनले लागुऔषध नियन्त्रण गर्न विगतमा भएका कमी कमजोरीलाई सच्याएर सरकारले १० वर्षे कार्ययोजना बनाएर अगाडि बढाउनुपर्ने बताए । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको क्षमता अभिवृद्धि गर्नुुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा लागुऔषध दुरुपयोगसम्बन्धी नाटक, कविता, वतृत्वकला प्रतियोगिता सम्पन्न गर्नुका साथै गृहमन्त्रालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको ‘सुरक्षित जीवन’ स्मारिकाको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्