Logo
Logo

विज्ञापन विनाको विदेशी टेलिभिजन—ओली सरकारको सही काम


- दृष्टि न्युज/संवाददाता


वर्तमान सरकारवाट जनताले धेरै जनपक्षीय कामहरुको अपेक्षा गरेर नै करीव दुई तिहाइ मत नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई दिएका थिए । अहिले धेरै विषयमा विवादहरु भइरहेको वेला ओली सरकारले एउटा निकै सराहनिय काम गर्ने निर्णय गरेको छ । विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापन रहित(क्लिन फिड) पं्रसारण गर्नु पर्ने प्रावधान सहितको विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । यो विधेयक पारित भएपछि कानून वन्नेछ र नेपालमा लागु हुनेछ ।

विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापन विना प्रसारण गर्नुपर्ने नीतिका विरुद्ध टेलिभिजन प्रसारक कम्पनीहरुले विरोध स्वरुप २४ घण्टा प्रसारण वन्द गरे । तर सरकारको नीतिको पक्षमा आम जनता उभीने क्रम शुरु भएको छ । थाहा नपाएका जनतालेपनि क्रमश थाहा पाउँदैछन् र टेलिभिजन प्रसारक कम्पनीहरुको विरोधका विरुद्द जनमत व्यापक वन्दैछ ।

विकसित देशहरुमा पनि अरु देशका टेलिभिजन च्यानलहरुले विज्ञापन विना मात्र आफ्नो देशमा प्रसारण गर्न पाउने वनाएका छन् । तर नेपालमा भने विदेशी च्यानलहरुले विज्ञापन सहितको टेलिभिजन प्रसारण गर्दै आएका छन् । अब सरकारले पेश गरेको विधेयक पारित भएर राष्ट्रपतिवाट हस्ताक्षर भएपछि त्यो कानून वन्नेछ र विज्ञापन विनाको नीति लागु हुनेछ ।

नेपालमा विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापन गरेर सरकारलाई एक पैसा पनि कर वुझाउँदैनन् । यस्तो प्रसारण गरेवापत टेलिभिजन च्यानलहरुले केही कमिशन पाइरहेका छन् । केही लाख वरावरको कमिशन उनीहरुलाई दिएर अरबौंको विज्ञापन विदेशी कम्पनीहरुले सितैमा गरिरहेका छन् । अब त्यसको अन्त्य हुनेछ ।

यसवाट नेपालमा विज्ञापनको वजार वढ्ने हुन्छ । विदेशी कम्पनीहरुले नेपालमा विज्ञापन गर्न भारतीय च्यानललाई होइन कि नेपाली च्यानलहरुलाई नै विज्ञापन दिनेछन्, नेपाल सरकारलाई नै कर वुझाउनेछन् । यसवाट अरबौ रुपैयाँ वरावरको आय नेपाली कम्पनी र नेपाल सरकारलाइ हुनेछ ।

नेपालीहरुले विदेशी च्यानल हेरिदिएवापत विदेशीले विदेशी कम्पनीलाई नै पैसा दिने चलनको अन्त्य हुनेछ र त्यो पैसा नेपाल आउनेछ ।

यस्तो सही निर्णय लिएकोले संचार मन्त्री वधाइका पात्र हुनु भएको छ ।

यस्तै राम्रा निर्णयहरु अरु पनि लिन थाल्ने हो भने जनताले स्वत समर्थन गर्ने रहेछ भनेर सरकारमा रहेका नेताहरुले बुझ्न पर्ने भएको छ । तर विगतका केही गम्भीर विवादास्पद निर्णयहरुको श्रृंखला भने सच्याउनै पर्दछ । सरकारले गलत निर्णय गरेमा जनताले गम्भीर विरोध गर्ने र राम्रो गरेमा समर्थन गर्नेछन् भन्ने यथार्थ सरकारले बेलैमा बुझ्नु पर्दछ ।

यस विधेयकमा विदेशी विज्ञापनलाई नेपालका संचार माध्यमले प्रसारण गर्दा डविङ गरी प्रसारण गर्न पाइने छैन भन्ने पनि प्रावधान छ । यसवाट नेपालका कलाकारहरु र प्राविधिकहरुले थप काम पाउने छन् । तसर्थ यो विधेयक नेपालको हितमा छ ।

यस विज्ञापन विनाको विदेशी टेलिभिजन प्रसारणको विधेयकवाट अब सरकार पछि हट्नु हुन्न । दरो गोडा टेक्नु पर्दछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्