Logo
Logo

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन : रौहानी


- दृष्टि न्युज/संवाददाता



तेहरान, ११ असार (एएफपी)। इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भनेका छन् । उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ ।
‘इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन’ उनलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको उनको दाबी थियो ।
‘हामी कसैसँग पनि युद्ध चाहँदैनौ, हामी अमेरिकासँग पनि चाहँदैनौँ’ उनले भनेका छन् । उनले यो अभिव्यक्ति उनका फ्रान्सेली समकक्षीसँग बुधबार गरेको फोनवार्तामा व्यक्त गरेको समाचारमा जनाइएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोन वार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेको इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार पनि गरेका छन् । उनका अभिव्यक्तिहरुबाट यी दुई देशबीच ठूलो तनाव रहेको थाहा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम जनाउँछन् ।

इरानले हालैमात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ । आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ ।
तर, इरानको यो भनाई सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सीमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ । पछिल्लो समयमा अमेरिकी ट्यांकरहरुमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ । अज्ञात समूहहरुले अमेरिकी ट्यांकरहरुमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्