Logo
Logo
विचार

संकटको भुमरीमा रन्थनियो केपी ग्याङ



हर्रो नपाएर हैरान भएका जनतालाई जाइफलको सपना बाँडेर देशको अर्थतन्त्र ध्वस्त पारियो । उतिबेला कोरोना कहरले थिलोथिलो भएको मौका छोपेर नुनदेखि लसुनसम्ममा भ्रष्टाचार गरियो ।

पहुँचवालाले मुलुकको ढुकुटीमा तर मारिरहँदा विपन्नहरूले सरकारको होइन आफ्नै जीवनको आश मारिरहे । यद्यपि, ओलीराजको मस्तिष्क ढाकेको घुम्टो थोरै पनि उघ्रिएन । मुलुक झन्–झन् अँध्यारो सुरुङतर्फको दिशामा अघि बढ्दै गयो ।

जनताका आवाजमाथि प्रतिबन्ध लगाउनेसम्मका हर्कतहरु भए । संविधान र ऐनविपरीत शीतलनिवास अनि बालुवाटारको बाक्लिँदो भेटघाटले देशमा अनैतिक शासनको जन्म हुने सम्भावना बढ्दै गयो । अन्ततः खबरदारीका बाबजुद आफ्नै खुट्टामा बञ्चरो हानिरहेको हैकमी ओली शासन धुलिसात् भयो । उत्पीडित मध्येकै केही मान्छे मतियार नबनेको भए उत्पीडकहरु त्यति धेरै शक्तिशाली हुँदैन थिए ।

कतिपयलाई देशप्रेमी बन्न जनताको बलिदानबाट स्थापित मूल्य, मान्यता र सौन्दर्यको पक्षमा बोल्न अनि केही गरी पुर्याउनु पर्दैन । राष्ट्रवादी बन्न त बुर्जुवा शैलीमा प्रचण्ड र माधव नेपालको विरोध गरे पुग्छ ।

एमाले नामक नाङ्ले पसल चलाइरहेको केपी एण्ड कम्पनीले यतिखेर यसै नीतिलाई नै शिरोधार्य गरेको छ । खाँदाखाँदैको थाल उछिट्याइदिएपछि रनाहामा परेको ओली ग्याङ जसरी हुन्छ गठबन्धन भत्किएको हेर्न आतुर छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई निर्वाचनमार्फत तह लगाउने अहमता साँधेर बसेको ओली समूह गठबन्धन टसको मस नभएपछि ठूलो विपत्तिको भुमरीमा घचेटिने प्रायः निश्चित छ । त्यसैले सबैभन्दा ठूलो दल भएर पनि सत्ता बाहिर बस्नुपर्दा उसको मस्तिष्क रन्थनिएको छ ।

ओली आफ्नो दलले निर्वाचन जिते उत्पात विकास गर्ने रटान लगाउने गर्दछन् । खासमा बुझ्ने हो भने ओलीले आफ्नो दललाई चुनाव जिताए देश समृद्धिको दिशामा अघि बढ्छ भन्नू नौलो होइन । त्यो त मात्रै– छोइला चोपल्ने टिमुरको बासी अचारजस्तै हो ।

समाजवाद र साम्यवादको नारा भजाउने राजनीतिक दलले नै किसान, मजदुर, श्रमजीवी वर्गको मुद्दाहरु उठाउने तर अन्त्यमा ती वर्गलाई नै चरम शोषण र अन्याय गरेका थुप्रै दृष्टान्तहरु छन् । किसान, मजदुर र श्रमजीवी वर्गको योगदान अवमूल्यन गर्नाले नै देश परनिर्भर बन्न पुगेको सत्य हो ।

हामीसँग भएका आन्तरिक स्रोत र साधनको परिचालन गरेर सम्पूर्ण जनशक्तिलाई एकताबद्ध पार्दै उत्पादन कार्यमा नलगाएसम्म देश कदापि आत्मनिर्भर बन्न सक्दैन । यसका लागि हामी जनस्तरबाटै जागरुक र चनाखो हुनुपर्छ । नेपाली नब्यूँझिएसम्म नेपाल सङ्लो हुन सक्दैन ।

धमिलो पानीमा माछा मार्न खोज्नेहरु आम नेपालीको चाहनालाई गिजोलेर आफ्नो दुष्कर्मलाई बढवा दिन चाहन्छन् । कहिले जुम्राविज्ञ त कहिले धर्मविज्ञ भएर जनताका आँखामा छारो हाल्न खोज्नेहरु यतिबेला त्राहिमाम छन् । पृष्ठभूमिमा नाचिरहेका आफ्ना दुष्कर्महरु लुकाउन मरिहत्ते गरिरहेका छन् ।

देशभक्तको खोल ओढेर वर्षौँदेखि राजनीतिलाई गतिलो कमाइखाने भाँडो बनाउने पंक्तिको यो बखत संकटको घडी सुरु भइसकेको छ । नजिकिँदै गरेको स्थानीय निर्वाचन देखेर उनीहरु भित्रभित्रै मस्तै आतंकित र भयभीत छन् ।

जनतालाई मतदाता र करदातामा मात्रै सीमित राख्ने राष्ट्रवादको बर्को ओढेका दलाल पंक्तिको समाप्तिपश्चात मात्रै देशले शान्ति, सुव्यवस्था र स्थायित्व पाउनेछ । उनीहरु यतिबेला हातमा कमण्डलु र डम्फु नचाउँदै फेरि देशमा उत्दण्डता कायम राख्न पाउनुपर्ने दाबी गरिरहेका छन् । ती जिउँदा लासहरुको अघोरी ताँतीले प्रलोभनका विषाक्त सगुनहरु बाँड्दै गाउँहरुलाई लठ्याउने चेष्टा गरिरहेका छन् ।

बितेको चुनावपछि वर्षौँ लापत्ता उनीहरु फेरि गाउँ पसेर जनताका पाऊमा गिड्गिडाइरहेका छन् । घोषणापत्र नामधारी ठेली बोकेर लोकलाई भ्रमित तुल्याउन नाकले भुइँ जोतेर हिँडिरहेका छन् ।

करिब पाँच वर्षसम्म यिनको निकास र विकास सायद आफ्नै चिसो मस्तिष्कमा त्रिशूल गाढेर निदाएको थियो । त्यसैले त– चन्द्रागिरिको डाँडाबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को कविता सुनाएर थालनी गरिएको त्यो यात्रा ४२ महिनामा पूर्णतः गाईजात्रामा परिणत भयो ।

वर्षौँदेखि काम नगर्ने, गफमात्रै गर्ने नेतृत्वपंक्तिले नेपालीजनको भावना र भविष्यमाथि गम्भीर खेलवाड गरेको प्रष्ट देखिन्छ । जनतालाई एकताबद्ध बनाउन नसक्ने यस्ता छेपारे नेतृत्व, अभियान्ता, गुट या व्यक्तिको पछाडि लाग्नु देशलाई अझै भयानक भुलभुलैयामा धकेल्नुसरह नै हो ।

पटक–पटक यो वा त्यो पात्र राज्यको उपरी संरचनामा पुगे पनि देशको पीडा र आम जनताको समस्याबारे बेखबरजस्तै बन्नु उनीहरुकै लाचारीपना हो । राष्ट्रिय मूल्य–मान्यताको संरक्षण, हरेक क्षेत्रमा हासिल गर्नैपर्ने राष्ट्रिय स्वार्थ, जनताको न्यूनतम आवश्यकता आंशिकरूपमा समेत सम्बोधन गर्न नसक्ने मतलबी शासकहरुलाई बेलैमा पहिचान गरौं ।

निर्वाचनमार्फत हामी आफैँले गर्नसक्ने कारबाहीद्वारा दण्डित गरौँ । कोरोनाको महामारीमा औषधि जस्तो अति संवेदनशील वस्तुको कालोबजारी र तस्करी गर्ने मोतीलाल दुगडजस्ता मतिभ्रष्टहरुलाई सामाजिक सेवा केन्द्रको संयोजक चयन गर्नेहरुले निर्वाचन जिते भने देशले कस्तो नतिजा पाउला ? आम जनताको हकमा यो भन्दा ठूलो अपमान अरू के होला ? त्यसैले फेरि पनि समयमा अफ्नो मतको सही सदुपयोग गरौं ।

यो चुनाव फगत हारजितका लागि पार्टीहरूबीचको प्रतिस्पर्धा मात्र होइन । गणतन्त्र र प्राप्त उपलब्धिहरूलाई मट्टिमेट गर्न उद्यत प्रतिगमनकारी र गणतन्त्रविरोधी शक्तिलाई परास्त गर्नका लागि पनि हो ।

दुई–चारवटा घुनहरु चिच्याउँदैमा पानीघट्टले गति बदल्दैन । बलिदानबाट प्राप्त गणतन्त्र फल्छ, फुल्छ र मुस्कुराइरहनेछ । व्यवस्था बदलियो र अब अवस्था पनि बदलिन्छ–बदलिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्