Logo
Logo

पाँचथरका यी ६ बस्ती पहिरो जोखिममा


- दृष्टि न्युज/संवाददाता


सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गंगावा बस्तीमा मंगलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका-२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।

फिदिम, ११ असार । निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका ६ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गंगावा बस्तीमा मंगलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।
पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन् । चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिए ।
स्थानीयवासीका गाई तथा चौँरी गोठ पहिरोले बगाएको छ । यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको वडा सदस्य प्रेमबहादुर राईले जानकारी दिए ।
पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजना अवरुद्ध भएपछि स्थानीयवासीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष योङहाङले बताए । उनका अनुसार निरन्तर वर्षा भइरहेका कारण यी छ वटै बस्तीका स्थानीय सुरक्षित स्थानका खोजीमा निस्किएका छन् । ‘हालसम्म करीब ३० परिवार सुरक्षित स्थानको खोजीमा निस्किएको सुनिएको छ’, योङहाङले भने, ‘निरन्तर वर्षा भए पहिरो जानसक्ने भयले स्थानीय घरबाट निस्किएका हुन् । वर्षा रोकिएमा विस्थापित हुने थिएनन् ।’
गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको र टोली फर्किएपछि उक्त स्थानको वास्तविक अवस्था थाहा हुने बताए । उनका अनुसार पहिरोको क्षति र भयबाट विस्थापित स्थानीयवासीको अस्थायी बसोबासका लागि राहत सामग्री सदरमुकाम फिदिमबाट मगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनले पहिरोका कारण एक घर बगेको, पशुचौपाया बगाएको तथा दर्जनौँ स्थानीयवासी घर छोडेर सुरक्षित स्थानको खोजीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्