Logo
Logo

सहमति पत्रमा हस्ताक्षर गरेपछि राई र सपुतको शेल्फी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असार । यु–ट्युबमा आएसँगै चर्चामा आएको गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारले गाएको लोकदोहोरी गीत ‘गलबन्दी’को विवाद सुल्झिएको छ ।
गीतले दर्शक तथा श्रोता तताइरहेका बेला पुराना चर्चित गायक शम्भु राईले आफ्नो एउटा देउसीभैलो गीतसँग लय मिलेको भन्दै कपिराइटको दावी गरेपछि ‘गलबन्दी’ विवादमा आएको थियो । प्रकाश र शान्तिश्रीले गाएको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ र गायक राईको देउसी गीत ‘आउ नाचौँ साथी हो कम्मर कसेर’को लय मिलेको थियो ।
बुधबार दुवैपक्षबीच सहमति पत्रमा हस्ताक्षर गरेपछि विवाद टुंगिएको हो । ‘गलबन्दी’ गीतमा संगीतकारका रुपमा गायक राईको नाम राख्ने सहमति भएको छ । सहमतिअनुसार प्रकाश सपुतको नामसमेत संगीतकारमा रहने भएको छ ।
गायक तथा संगीतकार शम्भु राईलाई प्रकाश सपुतले केही दिनअघि एक खुलापत्र लेख्दै ‘कसम खाएर भनौँ सर, देउसी भैलो गीत मैले सुनेकै थिइनँ’ भनेपछि विवादले उग्ररुप लिएको थियो । त्यसपछि गायक राईले असन्तुष्टिमात्रै जनाएनन्, सपुतविरुद्ध कानुनी बाटोसमेत अंगाल्न पुगेका थिए ।
सामाजिक सञ्जालमा समेत गायक राई र सपुतको पक्ष–विपक्षमा चर्को विवाद चल्यो । उक्त गीतको विवाद सदनसम्म समेत पुगेको थियो । सम्भवतः यो पहिलो घटना हो, जो एउटा गीतको विवाद संसदको शुन्य समयमा बहसको विषय बन्यो । अन्नतः बुधबार दुई पक्षबीच सहमति भएको छ । त्यसका लागि विभिन्न सांगीतिक क्षेत्रका संघसंस्थाले समन्वय गरेका थिए ।
सहमतिपश्चात ‘गलबन्दी’ लोकदोहोरीको संगीत सिर्जना शम्भु राईकै हुने भएपनि रोल्टी भने नपाउने भएको छ । एक सातासम्म विवादमा रहेका गायक राई र सपुतले सहमतिमा हस्ताक्षर गरेपछि शेल्फी समेत खिचे । गायक राई र सपुतबीच भएको सहमतिलाई संगीत क्षेत्रका कलाकारले ‘सिर्जना र स्रष्टाको सम्मान’ भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्