Logo
Logo

मेक्सिको सीमामा बाबु-छोरीको मृत्युप्रति राष्ट्रसंघ दुःखी


- दृष्टि न्युज/संवाददाता


जेनेभा, १२ असार (सिन्ह्वा) । संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।
अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो । युएनएचसिआरले बाबु र उनकी २३ महिनाकी छोरीको नदी किनारामा तैरिएको अवस्थामा शव भेटिएको र यो निकै हृदयविदारक रहेको जनाएको छ ।
मेक्सिको र संयुक्तराज्य अमेरिकालाई छुट्याउने रियो ग्रान्डे सीमानदी हो । राष्ट्रसंघले एलसाल्भाडोरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरीको दुःखद निधन ‘अस्वीकार्य’ रहेको जनाएको छ ।
संयुक्तराज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको आदेशमा मेक्सिको सीमामा कडाई गरेपछि अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले कठोर मार्ग प्रयोग गर्न थालेका छन् जसका कारण आप्रवासीहरुको मृत्यु नियमितझैं हुन गरेको छ ।
युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले ओस्कार र भ्यालेरीको मृत्युले कतिपय मुलुकमा बढ्दो हिंसालाई रोक्नेतर्फ विश्वको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । मानिसहरु सुरक्षित जीवनका लागि कठोर यात्रामा निस्कन बाध्य भइरहेको देखिन्छ, ग्रान्डीले बताए ।

युएनएचसिआरले सबै मुलुकलाई यस्ता दुःखद घटना हुन नदिन तत्कालै समन्वयात्मक कदम चाल्न आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्